झुपडीका रवी ओड : म्यादी प्रहरीदेखि नेपाल आइडलसम्म
काठमाडौं । गायन सम्बन्धी चर्चित रियालिटि शो नेपाल आइडलको दोस्रो सिजनको उपाधि धनगढीका रवि ओडले जितेका छन् । आज काठमाडौंमा भएको ग्राण्ड फिनालेमा अन्य तीन प्रतिस्पर्धीलाई भोटिङको आधारमा पछि पार्दै रविले उपाधि जितेका हुन्।
टाइटलसँगै उनले २२ लाख नगद, एउटा होन्डा डब्लूआर–भी कार, एउटा गीति एल्बमको सम्झौता र वल्र्ड टुरको अवसर पाएका छन् । फष्ट रनरअप विक्रम बराल भए । उनले २० लाख रूपैयाँ पाएका छन् ।
सेकेण्ड रनर अप सुमित पाठक भए र उनले १२ लाख रुपैयाँ पनि पाए ।थर्ड रनरअप भइन् अस्मिता अधिकारी । उनले होन्डाको स्कुटर पाइन् ।
नेपाल आइडलमा रवीको यात्रा
धनगढी अडिसनमा कमल खत्रीको ‘जाउला रेलैमा’ बोलको गीत गाएर उनले निर्णायकको मन जितेका थिए। रवि ठाडो भाका, लोकदोहोरी, पप, हिन्दी, नेपाली सबै खाले गीत गाउन सक्ने प्रतिस्पर्धी हुन्।
शिव परियार, सुगम पोखरेल र हेमन्त रानाका गीत उनलाई बढी मन पर्छन् । सानै उमेरदेखि नै रवि गीत, संगीतमा निकै रुचि राख्थे । विद्यालयमा हुने कार्यक्रममा पनि उनी समय मागेर गीत सुनाइहाल्थे। ‘मेरो बाजे स्थानीय देउडा गाउनुहुन्थ्यो,’ उनी भन्छन्, ‘सबै जनाले मलाई बाजेको गुण सरेको भन्छन्।
राम्रो गायन प्रतिभा भएका उनी अन्ततः देश विदेशमा रहेका नेपालीको मत जित्दै नेपाल आइडल सिजन–२ को उपाधि जित्न सफल भएका हुन् । आर्थिक अवस्था कमजोर भएपछि रवी २०७० को निर्वाचनमा म्यादि प्रहरीमा समेत भर्ना भएका थिए ।
Facebook Comment