सन् २०१८ मा गायन क्षेत्रमा चम्किएकाहरु

डिसी नेपाल
१७ पुष २०७५ १०:०१

झापा । अंग्रेजी वर्ष २०१८  सकिए संगसगै आजबाट २०१९ सुरु हुँदै छ । यो वर्षमा नेपालको गायन क्षेत्रले केही नवप्रतिभाहरु जन्माएको छ । सन् २०१८ मा सबैको प्यारो बनेको नाम हो अशोक दर्जी । झापामा घर भएका उनी सडकमा गीत गाएर माग्दै हिँड्ने गर्थे । दया लाग्नेले केही रुपैयाँ दिन्थे भने कसैले त्यतिकै खाली हात फर्काइदिन्थे ।

तर अन्ततः गायक तथा संगीतकार टंक बुढाथोकीले उनलाई सडकबाटै उठाए र काठमाडौं लिएर आए । जब टंकले अशोकलाई साथमा लिएर मनबिनाको धन ठूलोको बोलको गीत सार्वजनिक गरे । देश विदेशमा रहेका हरेक नेपालीको मन मस्तिष्कमा त्यो गीत बस्न सफल भयो ।

टंकले सबै नेपालीसँग सहयोगको अपिल गरे र अशोक दर्जीको घरसमेत बनाइदिए । वरिष्ठ हास्यकलाकार हरिवंश आचार्य, चलचित्र निर्देशक सोभित बस्नेत, पत्रकार ऋषि धमलालगायतको उपस्थितिमा घर हस्तान्तरण गरियो । यसरी सबैको नजरमा प्यारो बनेका अशोक दर्जीलाई टंकले काठमाडौं नै ल्याएर स्कुल भर्ना गरिदिए । हाल पनि टंकले अशोकलाई आफ्नै साथमा राख्दै आएका छन् ।

सन २०१८ को अन्तिम समयमा उनीहरुले पनि अर्को गीत सार्वजनिक गरे । ‘चाैँरीको चाम्रो छुर्पी’ बोलको गीतलाई पनि दर्शकले धेरै मन पराएका छन् । त्यो गीत करिब एक हप्तासम्म ट्रेण्डिङ एकमा बन्न सफल भएको थियो । यस्तै २०१८ मा २ वटा रियालिटी शोहरु सम्पन्न भए । ती शोहरु हुन् एपीवान टेलिभिजनले आयोजना गरेका नेपाल आइडलको दोस्रो सिरिज र लक्ष्मण पौडेलको टिमले आयोजना गरेका द भ्वाइस अफ् नेपाल ।

नेपाल आइडल अन्तर्गत सुदूरपश्चिमका रवि ओड नेपाल आइडल बन्न सफल भए । गरिब परिवारमा जन्मिएका ओड विदेश जाने चक्करमा थिए  तर एक पटक नेपाल आइडलमा सहभागी हुने र नेपाल आइडल बन्ने आश बोकेर उनी काठमाडौं आए ।

अन्ततः उनलाई नै दर्शकले दोस्रो नेपाल आइडलका रुपमा पाए । नेपाल आइडल बनेकी खुशी साट्न नपाउँदै त्यसको केहर दिनमा नै नेपाल आइडल बन्न सफल ओडकी आमाको निधन भयो । घरमै काम गर्ने समयमा करेन्ट लागेर उनको निधन भएको थियो ।

त्यस्तै अर्को रियालिटी शो द भ्वाइस अफ् नेपालको विजेता बन्न सफल भए पोखराका सीडी विजय अधिकारी । यस्तै द भ्वाइस अफ् नेपालको फाइनमा पुग्ने अन्य ३ प्रतिस्पर्धीहरु सप्तकदुतराज, श्रीजय थपलिया र कुशल आचार्य पनि यो वर्ष निकै चर्चामा रहेका थिए । कार्यक्रमको फाइनल कतारमा गरिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *