रुसलान फाल्गुनन्द गोल्डकपको शुरुवाती खेलमा झापा ११ विजयी
हिलिहाङ । पाँचथरको फिदिममा शनिबारदेखी १०औँ रुसलान फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उद्घाटन गर्दै प्रदेश नं १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रआङ्बो मौसमले खेलकूद क्षेत्रको विकासका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताए । फिदिम माविको खेल मैदानको स्तरोन्नतिका लागि प्रदेश सरकारले रु ५० लाख सहयोग गर्ने बताए ।
प्रतियोगिताको उद्घाटन खेलमा झापा ११ विजयी बनेको छ । कर्णसिङ सोनाम स्मृति क्लब ताप्लेजुङलाई ३–१ गोल अन्तरले पराजित गर्दै झापा क्वाटरफाइनलमा प्रवेश गरेको हो । झापालाई जिताउन खेलको २६औँ मिनेटमा देवेन्द्र तामाङले, ४९औँ मिनेटमा राजकुमार कन्दङवा र ५७औ मिनेटमा कर्ण लिम्बूले समान १–१ गोल गरेका थिए ।
जवाफमा ताप्लेजुङको तर्फबाट खेल शुरु भएको छ मिनेटमा अनुप सेन्दाङले सान्त्वनामार्फत एक गोल फर्काएका थिए । आगामी पुस ३० गते फाइनल खेलमा १० वटा टिमको सहभागिता रहेको आयोजक फिदिम स्पोटिङ क्लबले जनाएको छ ।
झापा ११, ताप्लेजुङ, आयोजक फिदिम स्पोटिङ क्लब, मोरङ ११, त्रिभुवन आर्मी क्लब काठमाडौँ, एपिएफ क्लब काठमाडौँ, बिग्रेड ब्वाइज काठमाडौँ, सरस्वती क्लब काठमाडौँ, सुनसरी ११ र रोयल एफसी दार्जिलिङको सहभागिता रहेको आयोजक क्लबका अध्यक्ष विमल श्रेष्ठले जानकारी दिए । प्रतियोगिताको विजेताले रु चार लाख र उपविजेताले रु दुई लाख हात पार्ने उनले बताए।
Facebook Comment