भारतले उसकै घरमा पछार्यो अष्ट्रेलियालाई , रच्यो इतिहास

डिसी नेपाल
२३ पुष २०७५ १६:१७

अष्ट्रेलियाको भूमिमा भारतले क्रिकेटमा इतिहास रचेको छ । भारतले अष्ट्रेलियामा जित निकाल्दै ७१ वर्षपछि अष्ट्रेलियन भूमिमा टेष्ट सिरिजमा विजयी भएको इतिहास रचेको हो ।

अष्ट्रेलियाको सिड्नीमा भएको चौथो तथा अन्तिम टेष्टमा भारतले जित निकालेको हो । वर्षाका कारण बराबरीमा सकिएपछि भारतले अष्ट्रेलियाको भूमिमा ईतिहास रच्न सफल भएको हो । ७१ बर्षको ईतिहासमा भारतको कुनै टिमले अष्ट्रेलियाको भूमिमा टेष्ट सिरिज जित्न सकेको थिएन । विराट कोहली कप्तानीको भारतले एक सफलताको इतिहास दर्ता गराएको छ ।

भारतले टेष्ट सिरिज २–१ ले आफ्नो नाममा लेखाएको छ । सिड्नी टेष्टमा १ सय ९३ रन बनाएका चेतेश्वर पुजारा म्यान अफ दी म्याच घोषित भए । उनैलाई म्यान अफ दी सिरिजको समेत अवार्ड दिईएको थियो । पुजाराले चार टेष्ट म्याचको सिरिजमा ५ सय २१ रन बनाएका थिए । उनले सिरिजमा पहिलो, तेस्रो र चौथो टेस्टमा शतक प्रहार गरेका थिए ।

भारतले एडिलेटमा भएको पहिलो टेष्ट ३१ रनले जितेको थियो भने पर्थमा भएको दोस्रो टेष्टमा अष्ट्रेलियाले भारतलाई १ सय ४६ रनले हराएको थियो । यस्तै मेलवर्नमा भएको तेस्रो टेष्ट १ सय ३७ रनले जित्दै भारत २–१ ले अगाडि बढेको थियो । सिड्नीमा पनि भारतले उत्कृष्ट ब्याटिङ गर्दै पहिलो इनिङमा ७ विकेटको क्षतिमा ६ सय २२ रन बनाएर इनिङ समाप्तीको घोषणा गरेको थियो । जवाफी ब्याटिङ थालेको अस्ट्रेलिया ३ सय रनमा अलआउट हुँदा फलो–अनमा परेको थियो ।

चौथो दिन आइतबार अस्ट्रेलियाले दोस्रो इनिङ सुरु गरे लगत्तै वर्षाले खेल प्रभावित बन्यो । पाँचौ दिन पनि खेल हुन नसकेपछि चौथो खेल बराबरीमा सकियो भने सिरिज भारतले जित्न सफल भयो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *