मेलबर्न स्टार्स सेमिफाइनलमा, सन्दिपले लिए ३ विकेट

डिसी नेपाल
२७ माघ २०७५ ७:२२

काठमाडौं। सेमिफाइनल पुग्नको लागि जित्नैपर्ने दबाबका बीच समूह चरणको अन्तिम खेल खेलिरहेको मेलबर्न स्टार्सले सिड्नी सिक्सर्सविरुद्ध ९४ रनको विशाल जीत हात पारेको छ । १६९ रनको लक्ष्य पच्छ्याइरहेको सिड्नी ७४ रनमै अलआउट भयो । १३।४ ओभर मात्र खेलेको सिड्नीलाई सस्टैमा अलआउट गराउन नेपाली बलर सन्दिप लामिछानेले महत्वपूर्ण भूमिका खेले ।

आजको खेलमा सन्दिपले ३ विकेट लिए । एक ब्याट्सम्यानलाई रनआउट गराए र एक ब्याट्सम्यानलाई आउट गराउन क्याच लिए । सन्दिपले टम कुर्रानलाई एलबीडब्लु आउट गरे, बेन ड्वार्सुइस कप्तान ग्लेन म्याक्सवेलको हातबाट क्याच आउट गराए र लोएड पोपलाई मार्कुस स्टोइनिसको हातबाट क्याच आउट गराए । यसबाहेक सन्दिपले सिक्सर्सका कप्तान मोइस हेनरिक्सलाई आउट गराउन कप्तान ग्लेन म्याक्सवेलको बलमा क्याच लिए । सन्दिपले सिक्सर्सका नथान ल्योनलाई रनआउट पनि गराए ।

मेलबर्नको स्लो पिचमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मेलबर्न स्टार्सको लागि ओपनर मोइस स्टोइनिसले केही बलियो सुरुवात गर्ने प्रयास गरे । उनले २३ बलमा ३४ रन बनाए । तर, सुरुमा ओपनर बेन डंक आउट भएपछि ढिलो भएको मेलबर्नको इनिङ सन्तोषजनक रुपमा अगाडि बढ्न सकेन । पिटर ह्याण्डसकम्बले ३४ बलमा ३५ रनको योगदान दिएर आउट भए । अन्तिम ५ ओभरमा कप्तान म्याक्सवेलले तुफानी इनिङ खेले । उनले ४३ बलमा ८२ रन बनाउने क्रममा ४ चौका र ६ छक्का प्रहार गरे ।

१६९ रनको लक्ष्य लिएको सिक्सर्सलाई ७४ रनमै अलआउट गराउन नेपाली बलर सन्दिप लामिछानेसहित ड्यानियल वोरलले २ विकेट, एडम जाम्पाले २ विकेट तथा कप्तान म्याक्सवेल र ज्याक्सन बर्डले १–१ विकेट लिए । सिक्सर्सका लागि ड्यानियल हग्सले १२, टम कुर्रानले १० र स्टिभ ओकिफले ११ रन बनाए । अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेननन् । मेलबर्न स्टार्सले अब बिहीबार होबार्ट हरिकेन्सविरुद्ध होबार्टकै मैदामा पहिलो सेमिफाइनल खेल्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *