सरकारको नीति तथा कार्यक्रम समाजवादोन्मुख

डिसी नेपाल
२ जेठ २०७६ २:३९

गोरखा। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले घोषणा गरेको नीति तथा कार्यत्रम सामाजवादोन्मुख भएको बताएका छन्। नेपाल प्रेस सङ्गठन गोरखाले बुधबार सदरमुकाममा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले गएको एक वर्षलाई सरकारले समृद्धिको आधार वर्षका रुपमा लिएको भन्दै त्यो सफल भएको उल्लेख गरे।

“भर्खरै सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम समाजवादोन्मुख छ”, उनले भने, “अब आउने बजेट पनि समाजवादोन्मुख र समृद्धिको दिशातिर केन्द्रित भएको हुनेछ।” आउँदो जेठ १५ गते आउने बजेटले नेपाली जनताका तत्कालीन समस्या समाधान गर्ने प्रवक्ता श्रेष्ठले बताए। “सरकार पक्ष मात्र होइन, प्रतिपक्षलाई समेत समेट्ने गरी बजेट आउँछ”, उनले भने।

उनले नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको वर्तमान सरकार समृद्ध नेपाल निर्माणको अभियानमा जुटेको बताउँदै निर्वाचनका बेला जनतासँग गरेका सबै खालका प्रतिबद्धता नयाँ बजेटमा समावेश गर्ने उल्लेख गरे। “हामीले चुनावी घोषणापत्रमा गरेको प्रतिबद्धताअनुसार यो पटक वृद्धभत्ता बढाउने तयारी गरेका छौँ”, प्रवक्ता श्रेष्ठले भने, “बजेटका सैद्धान्तिक पक्षका बारेमा अर्थमन्त्रीले प्रिबजेट छलफलमा सबै कुरा प्रस्तुत गरिसक्नुभएको छ।”

उनले सरकारले ल्याउने बजेट पार्टीको घोषणापत्रलाई केन्द्रविन्दुमा राखेर नै अगाडि बढाउने बताए। प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री विदेशबाट फर्केलगत्तै बजेटका विषयमा बृहत् छलफल हुने र त्यसका सैद्धान्तिक पक्ष उत्पादन वृद्धि, समानुपातिक, समावेशी, सामाजिक न्यायसहित नयाँ बजेट आउने बताए। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *