नेपालमा दक्षिण एशियाकै सबैभन्दा सुदृढ बैंकिङ प्रणाली रहेको अर्थमन्त्री खतिवडाको दाबी
काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले दक्षिण एशीयामा सबैभन्दा सुदृढ बैंकिङ प्रणाली नेपालमा रहेको दावी गरेका छन् । अर्थमन्त्री खतिवडाले नेपालको बैंकिङ प्रणाली राम्रो भएकै कारण विदेशी बैंकहरुले नेपालको बैंकलाई ऋण दिन सुरु गरेको पनि स्पष्ट पारे ।
पूँजी र निक्षेपको अनुपात मात्रै हेर्ने हो भने पनि नेपालको बैंकिङ प्रणाली दक्षिणी एशीयामा सबैभन्दा राम्रो रहेको उनको भनाई छ । अर्थमन्त्री खतिवडाले बैंकिङ प्रणाली राम्रो भएकाले नेपालमा वैदेशिक लगानी भित्र्ने सम्भावना बढेर गएको समेत बताए ।
मंगलबार काठमाडौंको टंगालमा निक्षेप तथा कर्जा सुरक्षण कोष कार्यालय भवनको शिलान्याश गर्दै उनले निक्षेप विमा कार्यक्रमलाई अझै प्रभावकारी बनाउँदै लैजानुपर्र्नेमा पनि जोड दिए । त्यस अवसरमा अर्थमन्त्री खतिवडाले निक्षेप तथा कर्जा सुरक्षण कोषलाई बलियो बनाउन आगामी आर्थिक वर्ष भित्र यसको कोष १० अरव पु-याउने घोषणा पनि गरे।
सो कोषलाई बलियो बनाएर विपन्न वर्गलाई पनि बैंकिङ प्रणालीमा समावेश गराउने अर्थमन्त्री खतिवडाको योजना छ । कार्यक्रममा कोषका प्रमुख कार्यकारी अधिकृत विष्णुबाबु मिश्रले कोषले चालू आर्थिक वर्षको नौं महिनामा २ अरव मुनाफा आर्जन गर्न सफल भएको जानकारी दिएका थिए ।
उनले सबै प्रदेशको कोषको शाखा कार्यालय स्थापनाका लागि जग्गा खरिदको काम सम्पन्न गरिएको पनि बताए । कोषको भवनको निर्माण कार्यको जिम्मेवारी भ्याली बाबुरत्न जेभी कम्पनीलाई दिइएको छ । यस भवनको निर्माणका लागि ६ करोड ६८ लाख ५१ हजार ३९६ रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
Facebook Comment