कसले गर्‍यो अमिताभ बच्चनको ट्वीटर अकाउन्ट ह्याक ?

डिसी नेपाल
२८ जेठ २०७६ ११:४७

एजेन्सी । बलिउड अभिनेता अमिताभ बच्चनको ट्वीटर अकाउन्ट ह्याक भएको छ । सोमबार राती उनको ट्वीटर ह्याक भएको विभिन्न संचारमाध्यहरुले जनाएका छन्।

उक्त घटनाको जिम्मेवारी भने पाकिस्तान समर्थित टर्कीको टर्किश साइबर आर्मी ‘अयिल्दिज टिम’ ले जिम्मेवारी लिएको छ । अमिताभको ट्वीटर अकाउन्टबाट टर्की र पाकिस्तानसँग सम्बन्धित पोष्ट भएको छ।

ह्याकरले अमिताभको ट्वीटर अकाउन्टको प्रोफाइल–बायो सबै परिवर्तन गरेको छ । अमिताभको प्रोफाइल फोटो हटाएर पाकिस्तानका प्रधानमन्त्री इमरान खानको तस्बिर राखिएको छ । साथै लेखिएको छ, ‘नायक… केही मानिस अहिले पनि यस्तो गरिरहेका छन् । पाकिस्तानलाई प्रेम ।’

अहिले अमिताभको ट्वीटर अकाउन्ट रिकभर भएको छ र ह्याकरले गरेको सबै ट्वीट पनि हटाइएको छ । ह्याकरले अमिताभको अकाउन्टबाट ट्वीट गरेका थिए, ‘यो संसारभरीका लागि एक महत्वपूर्ण सन्देश हो । हामी टर्कीको फुटबल खेलाडीप्रति आइसल्याण्ड रिपब्लिकको व्यवहारको निन्दा गर्छौं । हामी प्रेमले कुरा गर्छौं तर हामी ठूलो लठ्ठी राख्छौं र तपाईंलाई यहाँ ठूलो साइबर हमलाबारे जानकारी दिइरहेका छौं । अयिल्दिज टिम टर्किश साइबर आर्मी ।’

टर्कीको फुटबल समूह केही दिनअघि यूरो सन् २०२० को क्वालिफाइंग म्याच खेल्न आइसल्याण्ड गएको थियो । त्यहाँ पुगेपछि टर्कीका खेलाडीमाथि एयरपोर्टमा गहन खोजतलास गरिएको थियो । अमिताभ बच्चन ट्वीटरमा विशेष सक्रिय छन् र उनका ३.७४ करोड फलोअर्स छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *