पर्यटकीयस्थल रुपाकोटमा भ्यू टावर बनाउन शुरु

डिसी नेपाल
२८ जेठ २०७६ ११:५९

खोटाङ । खोटाङको पर्यटकीयस्थल रुपाकोटमा भ्यू टावर बनाउन शुरु गरिएको छ । आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख पर्यटकीय गन्तव्य बन्दै गएको रुपाकोटमा ३० फिट अग्लो भ्यू टावर निर्माण शुरु गरिएको हो ।

समुन्द्री सतहदेखि करीब दुई हजार ६०० फिट अग्लो उक्त ठाउँमा निर्माणाधीन भ्यू टावर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको क्रमागत योजनामा राखिएको छ । नेपाल सरकारले निर्धारण गरेको १०० वटा पदमार्गमा परेको ‘मुन्धुम ट्रेल’ पदमार्गमा पर्ने सो टावरका लागि नगरपालिकाले यस वर्ष रु २७ लाख बजेट विनियोजन गरेको थियो ।

गत वैशाख १६ गतेबाट निर्माण शुरु गरिएको टावर निर्माणको पहिलो चरणको काम करीब ९० प्रतिशत सकिएको निर्माण उपभोक्ता समितिका उपाध्यक्ष सप्तमणि राईले बताए । “रुपाकोटस्थित गढीडाँडामा निर्माण शुरु गरिएको भ्यू टावरमा छानो हाल्ने र रङरोगन गर्ने काम बाँकी छ”, उनले भने, “पहिलो चरणको काम आगामी असार दोस्रो साताभित्र सम्पन्न गर्ने योजना बनाएका छौँ ।”

सूर्योदय र सूर्यास्त दुवैको दृश्य अवलोकन गर्न सकिने पर्यटकीयस्थल रुपाकोटमा भ्यू टावरसँगै प्राकृतिक बगैँचा, वनभोजस्थल, कृत्रिम पोखरी निर्माणलगायत भौतिक विकासका काम गरिने नगरप्रमुख दीपनारायण रिजालले बताए । “रुपाकोट प्राकृतिक हिसाबले नमूना पर्यटकीयस्थलका रुपमा रहेको छ”, उनले भने ।

रुपाकोटमा निर्माणाधीन भ्यू टावरबाट विश्वको सर्वोच्च शिखर सगरमाथालगायतका उच्च हिमाली शृङ्खला तथा तराईका विभिन्न जिल्लामा रहेको फाँटहरुको दृश्य अवलोकन गर्न सकिन्छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारदेखि करीब तीन घण्टा पैदल उकालो चढेपछि रमणीयस्थल रुपाकोट पुगिन्छ ।

ढुङ्गे बाटो पछ्याउँदै उकालो चढेपछि पुगिने रुपाकोटमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटक दिनानुदिन बढ्दै गएको छ । चारैतिर घना जङ्गलको बीचमा रहेको सो क्षेत्रमा विशेषगरी नयाँ वर्ष मनाउन आउने आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ ।

ठूला–ठूला घाँसेमैदान रहेको यहाँ वर्षको अन्तिम दिन अर्थात् चैत मसान्तको दिन आउने र रातभरि जाग्राम बसेर पुरानो वर्षलाई बिदा गर्ने तथा नयाँ वर्षको स्वागत गर्ने प्रचलन छ । रातको १२ बजे वर्षलाई बिदा गरिन्छ । त्यतिखेर वर्षभरि गरेका राम्रा कुराको अनुसरण गर्ने र नराम्रा कुरालाई सधैँका लागि बिदा गर्ने चलन छ ।

नयाँ वर्षको स्वागत १२ बजेदेखि नै शुरु गरिन्छ । बिहान सूर्योदयको स्वागतपछि विभिन्न परिकार खाने चलन छ । सूर्योदयको बेला वर्षभरि शुभ रहोस् भन्ने कामना गर्दै नयाँ कामको थालनी गर्ने अठोट गरिन्छ । रुपाकोट क्षेत्रमा गडी, सिद्ध पोखरी, सिद्ध बाबाको मन्दिर, ठूलो आहाल, सानो आहालका साथै ठूला–ठूला चउरहरु रहेका छन् । रुपाकोटको बीच भागमा रहेको सिद्ध बाबाको कुटीमा पूजा आराधना गरे चिताएको पुग्ने जनविश्वास रहिआएको छ ।

योगीको कुटी नामले परिचित उक्त ठाउँमा विशेषगरी वैशाखे पूर्णिमाको दिन लामा तथा स्थानीयवासीले असिना, भलपहिरो र आँधीबेहरी नचलोस् भनेर कामना गर्ने प्रचलन छ । उक्त कुटीमा जिल्लाका विभिन्न क्षेत्रमा बसोबास गर्ने लामाहरु भेला भएर ज्ञान प्राप्तिका लागि दिनभर ध्यान गर्छन् ।

उक्त ठाउँ लोपोन्मुख वन्यजन्तु पाइने स्थान, भेडीगोठ तथा पशुपालन, विभिन्न प्रकारका गुराँसका साथै जडीबुटीका लागि पनि प्रसिद्ध मानिन्छ । घोरल, मृग, खरायो, राजपङ्खी, थार, सालकलगायतका वन्यजन्तु तथा डाँफे÷मुनाल, हुचिल, कालिज, प्युरालगायत विभिन्न प्रजातिका चराचुरुङ्गी देख्न पाइन्छ ।

रुपाकोटदेखि साप्सुढाप–मेरुङ–मैयुङ हुँदै सालपा पोखरी (सिलिचुङ)सम्मको पदमार्ग निर्माणका लागि पर्यटन मन्त्रालयमा पहल भइरहेको सांसद विशाल भट्टराईले बताए । अधिकांश भूभाग नगरपालिका–११ खार्मीमा पर्ने रुपाकोट सिङ्गो जिल्लाकै पानीको स्रोत भएका ठाउँ पनि हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *