निःशुल्क प्राथमिक उपचार तालिमको चौथो चरणमा सुदूर पश्चिमका १२ जिल्ला घोषणा

डिसी नेपाल
२८ जेठ २०७६ १२:१९

काठमाडौँ । युएईको नेपाली समुदायका सामाजिक अभियन्ता ओमप्रसाद उप्रेतीको पहलमा सञ्चालित निःशुल्क प्राथमिक उपचार तालिमको चौथो चरणमा सुदुर पश्चिमका १२ वटा सार्वजनिक गरिएको छ । डिस्कभरी रोयल स्पोर्ट्सका प्रबन्ध निर्देशक तथा अभियानका मुख्य प्रशिक्षक उप्रेतीले यस अभियानको चौथो चरणमा पश्चिम नेपालका १२ वटा जिल्लाको नाम घोषणा गरेका हुन् । ॐ समाज डेन्टल हस्पिटल चाबहिल र विराज समाजको सँयुक्त आयोजनामा जेठ २४ गते र एभरेस्ट मार्सल आर्ट समुहको तालिम समापनपछि अभियन्ता उप्रेतीले यो घोषणा गरेका हुन् ।

बेलायत र अमेरिकाबाट तालिम लिएका उप्रेतीले विदेशमा आफूले सिकेको सीपलाई नेपालका सबै जिल्लामा निःशुल्क तालिम आयोजना गरी सिकाउने सिलसिलामा २६ जिल्लामा यो तालिम सम्पन्न गरिसकेको बताएका छन् ।

उप्रेतीका अनुसार आगामी असोज ५ देखि १७ सम्ममा सुदूर पश्चिमका बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, बाजुरा, डोटी, अछाम र दाङ जिल्लामा निःशुल्क प्राथमिक उपचार तालिम आयोजना गरिने घोषणा गरेका हुन् ।

यो तालिममा १६ वटा रोग लाग्दा वा विपत्तिको अवस्थामा कसरी जीवनरक्षा गर्ने भन्ने विषयमा आधुनिक उपकरण सहित तालिम दिइन्छ । उप्रेतीले घोषित १२ जिल्लामा रहेका सामाजिक, शैक्षिक, स्वास्थ्य लगायतका क्षेत्रमा कार्यरत व्यक्ति वा संस्थालाई स्थानीय स्तरमा समन्वयका लागि अनुरोध पनि गरेका छन् ।

काठमाडौंको तालिम भव्यतापूर्वक सम्पन्न

निःशुल्क प्राथमिक उपचार तालिम अभियानले काठमाडौंका २ स्थानमा अल्पकालीन तालिम सम्पन्न गरेको छ । ॐ समाज डेन्टल हस्पिटल चाबहिल , काठमाण्डौमा निशुल्क प्राथमिक उपचार तालिम जेठ २४ गते शुक्रबार सम्पन्न भएको छ ।

तालिमको शुभारम्भ कार्यक्रमका प्रमुख अतिथि विराज समाजका सल्लाहकार वरिष्ठ पत्रकार तथा मानव अधिकारकर्मी प्रा। पुरुषोत्तम दाहालले निशुल्क प्राथमिक तालिमको मानव जीवनमा महत्वपूर्ण रहेको चर्चा गर्दै ॐ समाज डेन्टल हस्पिटल, विराज समाज र तालिमका प्रमुख प्रशिक्षक ओम उप्रेतीलाई धन्यवाद प्रकट गरेका थिए । नयाँ पुस्ताको सामाजिक जागरण र निशुल्क प्राथमिक उपचार तालिममा उल्लेखनीय सहभागिता रहेकोमा खुशी प्रकट गर्दै दाहालले मिडियाहरुले यस्ता सामाजिक जागरण तथा मानवीय सेवाका कार्यक्रमहरूलाई उचित स्थान दिनुपर्ने बताए ।
कार्यक्रमका सभापति ॐ समाज डेन्टल हस्पिटलका अध्यक्ष तथा वरिष्ठ दन्त सर्जन डा। सुभाष घिमिरेले हस्पिटलले गरेका सामाजिक कार्यहरूको बारेमा जानकारी गर्दै निशुल्क प्राथमिक उपचार तालिमले धेरैको जीवनको रक्षा गर्न सकिने बताए ।

वरिष्ठ कलाकार निर्मल शर्माले ओम उप्रेतीको निशुल्क प्राथमिक उपचार तालिम अभियानलाई कलाकारहरूको साथ र सहयोग रहेको जानकारी दिएका थिए ।कार्यक्रममा स्वागत मन्तव्य राख्दै ॐ समाज डेन्टल हस्पिटलका उपाध्यक्ष रामेश्वर केसीले ॐ समाज डेन्टल हस्पिटलमा निशुल्क प्राथमिक उपचार तालिम सञ्चालन गर्न पाउँदा खुशी र गौरव महसुस गरेको बताए ।

ॐ समाज डेन्टल हस्पिटल गोपीकृष्ण चावहिलमा भएको निशुल्क प्राथमिक उपचार तालिममा विराज समाजका सल्लाहकारहरू प्रा मुकुन्दराज दाहाल, केशव दाहाल, विनोद दाहाल, निर्वमान अध्यक्ष दिनेश कुमार मगर , विराज समाजका अध्यक्ष रामप्रसाद दाहाल, सचिव राजेन्द्रप्रसाद दाहाल, कोषाध्यक्ष नरबहादुर कटवाल, निशुल्क प्राथमिक उपचारका अभियान्ता लक्ष्मण काफ्ले र सञ्जिव केसी लगायतको उपस्थिति रहेको थियो ।
ॐ समाज डेन्टल हस्पिटलको सभाहलमा आयोजना हुने निशुल्क प्राथमिक उपचार तालिममा देशकै प्रतिष्ठित कलाकार रमेश उप्रेती सहित विशिष्ठ कलाकारहरूको समेत उििस्थति रहेको थियो । निशुल्क प्राथमिक उपचार तालिममा दुई सय जना महानुभावहरुले तालिम लिएका थिए । तालिममा प्रयोग्यात्मक अभ्याश पनि गराईएको थियो । कार्यक्रमको सहजिकरण एशिला शर्माले गरेकी थिइन् ।

एभरेस्ट मार्सल आर्ट समुहमा उत्साहजनक तालिम

युएई र नेपालमा कार्यक्षेत्र रहेको एभरेस्ट मार्सल आर्ट समुहको स्थानीय संयोजनमा गत जेठ २५ गते शनिबार काठमाडौंको रविभवनमा निःशुल्क प्राथमिक उपचार तालिम सम्पन्न भएको छ ।

मार्सल आर्ट खेल क्षेत्रका खेलाडी, प्रशिक्षक, अभिभावक साथै शुभचिन्तकहरुको टोलीलाई मानव जिवनमा आवश्यक मानिएको प्राथमिक उपचार तालिम निःशुल्क प्रदान गरिएको अभियन्ता ओमप्रसाद उप्रेतीले जानकारी दिएका छन् । एभरेस्ट मार्सल आर्टका प्रबन्ध निर्देशक रवि शाहीको अध्यक्षतामा सञ्चालित एक दिवसीय तालिम उत्साहजनक उपस्थितिमा सम्पन्न भएको थियो ।

यी दुई दिने निःशुल्क प्राथमिक उपचार तालिम सफलतापुर्वक सम्पन्न गर्ने क्रममा रास्ट्रको लागि योगदान गर्ने नारासहितको यो कार्यक्रमको चौथो चरणको थप १२ जिल्लाको घोषणा पस्चात अभियन्ता ओमप्रसाद उप्रेती आफ्नो कर्मभुमी युएई फर्किएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *