शोएब मलिकपछि अर्का पाकिस्तानी क्रिकेटर पनि भारतका ज्वाईं बन्दै
![शोएब मलिकपछि अर्का पाकिस्तानी क्रिकेटर पनि भारतका ज्वाईं बन्दै](https://www.dcnepal.com/wp-content/uploads/2019/07/Hasan-Ali.jpg)
एजेन्सी । पाकिस्तानी क्रिकेटर शोएब मलिकपछि अब अर्का बलर पनि भारतका ज्वाईं बन्ने भएका छन्। पाकिस्तानी क्रिकेटर हसन अलीले भारतीय युवतीसँग विवाह गर्ने पक्का भएको छ। हसनले भारतको हरियाणा राज्यको नूंह जिल्ला निवासी शामिया आरजूसँग विवाह गर्न लागेका भारतीय संचार माध्यमले जनाएका छन्।
समाचारका अनुसार अगस्टको तेश्रो साता दुबईमा पारिवारिक उपस्थितिकामाझ दुबैले विवाह गर्नेछन्। हसन अलीले पनि भारतीय युवतीसँग विवाह हुन लागेको स्वीकार गरेका छन्।
यो विवाह पारिवारिक सम्बन्धका आधारमा तय भएको बताइएको छ। शामियाका बाबु लियाकत अलिका हजुरबुवा र पाकिस्तान रेलवेका अध्यक्षसमेत रहेका सरदार तुफेल दाजुभाइ थिए। भारत–पाकिस्तान विभाजनपछि तुफेल पाकिस्तान गए भने लियाकतका हजुरबावा भारतमै बसे। तुफेलकै पहलमा हसन र शामियाको विवाह पक्का भएको हो। शामिया एक फ्लाईट इन्जिनियर हुन्।
यसअघि पनि पाकिस्तानी क्रिकेटर शोएब मल्लिकले भारतीय टेनिस स्टार सानिया मिर्जासँग र आफ्नो समयका चर्चित ब्याटसम्यान मोहसिन खानले बलिउड अभिनेत्री रिना रोयसँग विवाह गरेका थिए।
Facebook Comment