‘फुर्सदिला’ पूर्व प्रधानमन्त्री झलनाथ खनाल

काठमाडौं। बिहीबार दिउँसो डल्लूस्थित निवास पुग्दा पूर्वप्रधानमन्त्री झलनाथ खनाल फुर्सदिला देखिन्थे। खनाल निवासमा न कार्यकर्ताको भीडभाड थियो, न कुनै चहल पहल। सुरक्षाकर्मीले घरको पहरा दिएर बसेका हुनाले यो कुनै भीआईपीको निवास हो भनेर अनुमान लगाउनु बाहेक खनाल निवासलाई चिन्ने अर्को आधार देखिएन। हामीलाई पनि त्यही सुरक्षा पहरा भएकै आधारमा घर पहिल्याउन सहज भयो।
तत्कालीन मालेको महासचिव, तत्कालीन एमालेको अध्यक्ष हुँदै प्रधानमन्त्री बन्न सफल नेता खनाल अहिले पनि राजनीतिमा उत्तिकै सक्रिय रहन्छन्। उनी बेलाबेलामा पार्टीमा आफ्नो भूमिकाको खोजि गरिरहेका र नपाउँदा क्रोधित बन्ने गरेका भेटिन्छन्। एकाध स्वास्थ्य समस्याका कारण कहिलेकाँही निष्कृय हुनु बाध्यता हो नत्र उनी रजनीतिमा क्रियाशिल नै देखिन्छन्।
पछिल्लो समय पार्टीमा खास जिम्मेवारी नभएका कारण फुर्सदिलो हुनुपरेको उनले गुनासो सुनाए। दुई दलबीच एकता भएर अहिले मुलुककै सबैभन्दा ठूलो दल बनेको नेकपाका शीर्ष नेता खनाल आखिर किन फुर्सदिला भए? जवाफ उनैसँग छ। भन्छन्– ‘सुरुमा दुई नेता (ओली–प्रचण्ड) बीच अति विश्वास भएका कारण निकै हतारमा पार्टी एकता भयो। उहाँहरुले पार्टी एकीकरण घोषणा गरेको तीन महिनामा सबै एकता प्रक्रिया पूरा हुन्छ भन्नु भएको थियो। तर जुन मोडलमा पार्टी एकता गरियो त्यसले आज एकता भएको १४ महिना भइसक्दासमेत एकता प्रक्रियाले पूर्णता पाएको छैन। कार्य विभाजनदेखि विभागहरु गठन नहुँदा नेता कार्यकर्ता फुर्सदिला छन्।’
‘प्रधानमन्त्रीलाई सल्लाह दिने पार्टीले हो। राजदूत नियुक्ती गर्दासमेत पार्टीमा छलफल हुनुपर्छ। तर सरकारले गरेका निर्णय हामीले संचार माध्यममार्फत जानकारी पाउँछौं,’ खनालले भने।
०३२ सालदेखि विभिन्न तीन दर्जन समूहसँग एकता गरिसकेको अनुभव आफूहरुसँग भएपनि ओली र प्रचण्डले अनुभवी नेतासँग छलफल र संवाद नगरी मनोगत रुमपा पार्टी एकता गरेको खनालको विश्लेषण छ।
‘मनोगत दुनिया र वस्तुगत दुनिया फरक हुन्छ,’ नेता खनालले डिसी नेपालसँग भने, ‘अहिले तलदेखि माथिसँग पार्टी संगठन सक्रिय नहुँदा सरकारको कामको प्रचार प्रसारसमेत हुन सकेको छैन।’
सुरुमा पार्टी एकता प्रक्रिया नै गलत ढंगले अगाडि बढेको विश्लेषण सुनाएका खनालले अब भने एकता प्रक्रिया अन्तिम चरणमा पुगेको बताए।
प्रधानमन्त्री ओलीले सरकारको सकारात्मक कामको प्रचार पार्टीपंक्तिबाट नभएको भन्ने गुनासो बेला बेलामा गर्ने गरेका छन्। सरकारको कामको प्रचार प्रसार गर्न पार्टी एकताले गति नलिएपछि समस्या भएको नेताहरुले नै बताउने गरेका छन्। त्यसमा पनि प्रधानमन्त्री ओलीले पार्टीमा सरकारका काम र निर्णय बारे कुनै जानकारी गराउने गरेका छैनन्।
‘प्रधानमन्त्रीलाई सल्लाह दिने पार्टीले हो। राजदूत नियुक्ती गर्दासमेत पार्टीमा छलफल हुनुपर्छ। तर सरकारले गरेका निर्णय हामीले संचार माध्यममार्फत जानकारी पाउँछौं,’ खनालले भने।
प्रधानमन्त्रीको सल्लाहकार टिम परिपक्व नभएको, सरकारले गर्ने निर्णयका विषयमा प्रधानमन्त्रीले पार्टीमा छलफल नगर्ने र निर्णय सार्वजनिक भइसकेपछि आलोचना सुरु हुने परिपाटीलाई अब सुधार्नु पर्ने खनालको सुझाव छ।
पार्टी एकीकरण भएको १४ महिना पूरा हुन लाग्दासमेत पार्टी एकताले पूर्णता नपाएपछि नेतादेखि कार्यकर्तासम्म निरास बनेका छन्। शीर्ष नेताहरु नै यतिबेला फुर्सदिला बनेका छन्।
बेला बेलामा बालुवाटारमा हुने सचिवालय बैठकमा जाने बाहेक खनाल पनि अहिले निकै फुर्सदिला छन्। तर उनले पछिल्ला दिनमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले सल्लाह लिने र छलफलहरूमा बोलाउने गर्न थालेको सुनाए। ‘पहिला भन्दा अहिले पार्टीमा भूमिका बढेको छ। पार्टी एकता प्रक्रिया अन्तिम चरणमा पुगेको छ। यो बीचमा बाक्लै बैठक पनि भए। साउन पाँच गते सचिवालय बैठकले केही नयाँ निर्णय गर्न सक्छ,’ खनालले भने।
त्यसो त उनी प्रधानमन्त्रीको कार्यशैलीप्रति पनि सन्तुष्ट छैनन्। सरकारले दूरगामी महत्वका केही राम्रा कामको सुरुवात गरेको भएपनि जनअपेक्षा अनुसार काम गर्न नसकेको उनको ठम्याई छ।
‘सामुहिकतालाई ध्यानमा राखेर निर्णय गर्नुपर्छ। अब प्रधानमन्त्रीले कार्यशैली र कार्यनीति परिवर्तन गर्नुपर्छ,’ खनालले भने, ‘हामीले संविधानमै समाजवाद उन्मुख भनेर लेखेका छौं। अहिलेकै कार्यशैलीले समाजवादको यात्रा तय हुँदैन।’
अल्पकालीन, मध्यकालीन र दीर्घकालीन बिकासका योजना तय गरेर जनताको आकाँक्षा सम्वोधन गर्ने, र समाजवादमा पुग्ने कार्ययोजना बनाउनु अवको आबश्यकता भएको खनालको तर्क छ।
Facebook Comment