१४ औं महाधिवेशनका विषयमा कांग्रेसले के निर्णय गर्ला?

काठमाडौं। नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा १४ औं महाधिवेशनको विषय एजेण्डाका रुपमा प्रस्तुत भएपनि त्यो विषयमा कुनै निर्णय हुन सकेको छैन।
संघीय संरचना अनुसार पार्टी संरचना निर्माण गरि १४औं महाधिवेशनको कार्यतालिका निर्माण गर्ने विषयमा सबै एकमत भए तापनि प्रक्रिया मिलाउने विषयमा विवाद कायमै छ । भर्खरै विधान संशोधन गरी नियमावलीसमेत पारित गरेको कांग्रेसलाई तत्काल तल्लो तहको अधिवेशन गर्नुपर्ने बाध्यता छ।
१४ औं महाधिवेशनका बारेमा जारी केन्द्रीय कार्यसमितिले नै औपचारिक निर्णय गर्ने बताइएको छ। सभापति शेरबहादुर देउवा र महामन्त्री डा. शशांक कोइरालाले अन्तरिम संरचना गठनका बारेमा धारणा राखेपछि कांग्रेसमा महाधिवेशनका बारेमा औपचारिक निर्णय हुने बताइएको छ।
केन्द्रीय कार्यसमिति बैठकमा साउन ७ गतेबाट १४ औं महाधिवेशनको कार्यतालिका निर्माण गरेर प्रक्रिया अघि बढाउने विषयमा औपचारिक रूपमा छलफल हुँदै आएको छ।
असार २२ गते सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री खड्काले विभिन्न १४ वटा एजेण्डा पेस गरेका थिए। जारी केन्द्रीय कार्यसमिति बैठकमा संस्थापन पक्षले पार्टीका अन्तरिम संरचना गठन गरेर मात्रै महाधिवेशन प्रक्रियामा जान सकिने बताइरहेको छ भने पौडेल समूह बैठकबाटै १४ औं महाधिवेशनको मिति तोकेर कार्यतालिका निर्माण गरिनुपर्ने माग गरिरहेको छ।
केन्द्रीय कार्यसमिति बैठकमा साउन ७ गतेबाट १४ औं महाधिवेशनको कार्यतालिका निर्माण गरेर प्रक्रिया अघि बढाउने विषयमा औपचारिक रूपमा छलफल हुँदै आएको छ।
यस्तै, तेस्रो धारका रूपमा चिनिएको नेता कृष्णप्रसाद सिटौला समूहले विधानमा गरिएको प्रावधानअनुरूप संक्रमणकालीन व्यवस्थाअनुसार अन्तरिम संरचना गठन गरेर महाधिवेशनको तयारीमा जुट्नुपर्नेमा जोड दिएको छ।
विधानको संक्रमणकालीन व्यवस्थाअनुसार तल्लो तहका संरचना गठन नगरी महाधिवेशन प्रक्रिया अघि बढाउन नसकिने बाध्यकारी व्यवस्था छ। कांग्रेस विधानको परिच्छेद ८ को दफा ७२ (४) ‘क’, ‘ख’, ‘ग’, ‘घ’ र ‘ङ’ अनुसारको अन्तरिम संरचना गठन नगरी महाधिवेशन गर्न सकिँदैन । यस्तै, अन्तरिम संरचना गठन नगरेर महाधिवेशनको मिति निर्धारणका लागि व्यवस्था गरिएको तिथि तोक्ने धारा १५, १७, ३५ (२) को ‘घ’ र ‘ङ’ लागू गर्न नसकिने अवस्था छ।
मंगलबारको बैठकमा वरिष्ठ नेता पौडेलले विधानबमोजिम संक्रमणकालीन व्यवस्था लागू गरेर पार्टीका अन्तरिम संरचना निर्माण गर्नुपर्ने बताएका थिए। समयमै कार्यतालिका ल्याएर आगामी महाधिवेशनको तयारीमा जुट्नुपर्ने उनको भनाइ थियो।
तल्लो तहको अधिवेशन सहमतिमा गर्ने की निर्वाचनवाट गर्ने? यसलाई १३औं महाधिवेशनको बाँकी अवधिका लागि मात्र मान्यता दिने कि १४औं महाधिवेशनसम्मलाई मान्यता दिने? विधानअनुसार प्रक्रिया कसरी मिलाउने भन्ने कुराको निक्र्योल भएपछि मात्र तल्लो तहको अधिवेशनको कार्यतालिका ल्याउने कांग्रेसको तयारी छ।
कांग्रेस विधानको धारा ७२ मा पार्टी संगठनको अन्तरिम व्यवस्था सम्बन्धमा उल्लेख गरिएको छ। कांग्रेस विधानमा संविधानबमोजिम नयाँ निर्धारण भएका प्रदेश सभा सदस्य निर्वाचन क्षेत्रभित्र विधान संशोधन पूर्वकायम रहेका क्षेत्रीय अधिवेशन प्रतिनिधि प्रदेश सभा निर्वाचन क्षेत्रीय अधिवेशनका प्रतिनिधि हुनेछन् भन्ने उल्लेख छ। यसरी कायम हुन आएका प्रदेश सभा निर्वाचन क्षेत्रीय अधिवेशनले यो विधानबमोजिमको प्रदेश सभा निर्वाचन क्षेत्रीय कार्यसमिति गठन गर्नेछ।
प्रदेशभित्र विधान संशोधन पूर्वकायम रहेका केन्द्रीय महाधिवेशन प्रतिनिधि प्रदेश अधिवेशन प्रतिनिधि हुनेछन् उल्लेख छ। यसरी कायम हुन आएको प्रदेश अधिवेशनले विधानबमोजिमको प्रदेश कार्यसमिति गठन गर्नेछ भने गाउँपालिका/नगरपालिका वडा कार्यसमिति गठन भएको बढीमा दुई महिनाभित्र वडा कार्यसमितिले मातहतका टोल कार्यसमिति गठन गर्ने उल्लेख छ।
Facebook Comment