भन्सार प्रशासनलाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री खतिवडा

डिसी नेपाल
१६ साउन २०७६ १०:४२

काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले भन्सार प्रशासनलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । भन्सार विभागले आज बिहान राजधानीमा गरेको भन्सार व्यवस्थापन गोष्ठीको उद्घाटन कार्यक्रममा उहाँले भन्सार प्रशासनसँगै सीमा प्रशासनलाई प्रभावकारी बनाउन अपरिहार्य भएको बताए।

उनले हरेक भन्सार विन्दुमा प्रविधि र पूर्वाधार विकास गर्न सरकार क्रियाशील रहेको जानकारी दिँदै उद्यमी, व्यवसायी र राष्ट्रिय अर्थतन्त्रको उन्नयनका निम्ति कानूनी एवं संरचनागत सुधारमा लागेको बताए। राष्ट्रिय पूँजी निर्माणमा निजी क्षेत्रलाई आह्वान गर्दै अर्थमन्त्री डा. खतिवडाले भन्सार र व्यापारका पूर्वाधार बनाउन र सुस्तगतिमा भइरहेको औद्योगिकीकरणलाई दु्रतगतिमा बढाउन सार्वजनिक निजी साझेदारी आवश्यक भएको विचार व्यक्त गरे।

उनले भने, “कर सुविधा प्राप्त एवं संरक्षित क्षेत्रमा लगानी गरेर उद्योग/व्यवसायलाई बढावा दिनेतर्फ लाग्नुहोस्, राष्ट्रिय अर्थतन्त्र प्रवद्र्धनमा हामी सघाउन तत्पर छौँ।” अर्थमन्त्रीले चोरी निकासी पैठारी नियन्त्रणमा इमान्दारीपूर्वक लाग्न सम्बद्ध पक्षलाई निर्देशन पनि दिए।

अर्थसचिव राजन खनालले कारोवारमा आधारित भन्सार प्रणाली क्रमशः विकास गर्दै जाने सरकारको नीति रहेको जानकारी दिँदै बिल बिजकका समस्या उद्यमी–व्यवसायीबाट उत्पन्न हुन नहुनेमा जोड दिए। विभागका महानिर्देशक रामेश्वर दङ्गालले भैरहवा, नेपालगञ्ज, विराटनगर र वीरगञ्जजस्ता ठूला र देशभरका २४ वटा भन्सार कार्यालयलाई आर्थिक गतिविधिका लागि बैंकिङ कारोवारमा रूपान्तरण गरिएको बताए। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *