मलेसियामा अवैध रुपमा रहेका नेपाली स्वदेश फिर्ने अवसर भोलिदेखि

डिसी नेपाल
१६ साउन २०७६ ११:२५

मलेसिया। मलेसिया सरकारले अवैधरूपमा मलेसियामा रहेका विदेशी कामदारलाई आममाफी दिएर स्वदेश फर्काउने कार्यक्रम ल्याएपछि त्यहाँ रहेका अवैध नेपाली कामदारले पनि मौकाको फाइदा लिन सक्ने भएका छन् । यो अवसर भोलि (अगष्ट १) देखि डिसेम्बर ३१ तारिखसम्म लागू हुनेछ।

सो कार्यक्रमअनुसार स्वदेश फिर्ता हुन केही प्रक्रिया भने पूरा गर्नुपर्ने जनाइएको छ ।

जसमा दण्ड जरिवाना ७ सय , स्पेसल पास १ सय  र नेपाली राजदूतावासको राजस्व १ सय ६० मलेसियन रिङगेट बुझाउनुपर्छ।  साथै हवाइ टिकट कामदार स्वयम् आफैले व्यवस्थापन गर्नुपर्नेछ।

अवैधानिक नेपालीहरूलाई स्वदेश फर्कन सहज बनाउन मलेसियास्थित नेपाली दूतावास आफैले निशुल्क फारम भर्ने ब्यवस्था गरेको छ ।

त्यस्तै दुतावासबाट मलेसिया अध्यागमन विभाग र अध्यागमन विभागबाट केएलसम्मको निशुल्क यातायातको प्रबन्ध पनि दूतावासले नै गरेको छ ।

दुतावासको जनशक्तिले नपुगे परराष्ट्र मन्त्रालयबाट थप जनशक्ति माग गर्ने र मलेसियामा क्रियासिल नेपाली संघसंस्थाबाट पनि सहयोग लिने तयारी रहेको राजदूत उदयराज पाण्डेले डिसी नेपाललाई जानकारी दिए ।

‘यो पटक स्वदेश फर्कने नेपालीहरूलाई बिचौलियाहरूको चङ्गुलमा पर्न नदिन दुतावासले विशेष खालको तयारी गरेको छ । सक्कली ट्राभल डकुमेन्ट दुतावासले नै राखी अध्यागमन विभागमा मात्र उपलब्ध गराउनेछ । ’ राजदूत पाण्डेले भने ।

अभिलेख विहीन तथा गैर कानुनी भै मलेसियामा बसिरहेका व्यक्तिहरूलाई यस अवसरको लाभ उठाई नेपाल फर्कन र नेपालमा रहेका ति सम्बन्धित व्यक्तिका परिवारजनलाई समेत आफ्ना मान्छेलाई नेपाल फर्कनका लागि उत्प्रेरित गर्न दूतावासले अनुरोध गरेको छ ।

भिसा भएकाहरूको लागि यो अवसर लागू नहुने बताउँदै कोही पनि भ्रममा नपर्न राजदूत पाण्डेले सचेतसमेत गराए।

मलेसिया सरकारले लागू गरेको यो अवसरबाट १५ हजार अवैधानिक नेपालीलाई फाइदा पुग्ने बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *