सर्वदलीय बैठक निष्कर्षविहीन, संसद बैठक सूचना टाँसेर स्थगित

काठमाडौं। प्रतिनिधिसभाको बैठक सुचारु गर्ने सभामुख कृष्णबहादुर महराको प्रयास असफल भएको छ। संसद सुचारु गर्ने विषयमा सभामुख महराले बिहीबार आयोजना गरेको सर्वदलीय बैठक निष्कर्षविहीन भएपछि सूचना टाँस गरेर आगामी सोमबारसम्मका लागि बैठक स्थगित गरिएको छ।
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र राजपाले सर्लाही घटना छानवीन गर्न संसदीय समिति गठन गर्नु पर्ने माग राख्दै लगातार संसद बैठक अवरुद्ध पार्दै आएका छन्। तर सत्तापक्ष भने संसदीय समिति गठन गर्न सकारात्मक देखिएको छन्। यही विषयमा छलफल गर्न बिहीबार सभामुखको पहलमा सर्वदलीय बैठक बोलाएका थिए।
बैठकमा दलहरुले आ–आफ्नो अडान नछोडेपछि बिहीबार दुई बजे बस्ने तय भएको बैठक सूचना टाँसेर आगामी सोमबारसम्मका लागि स्थगित गरिएको छ। बैठक सूचारु गर्नुपर्छ भन्ने विषयमा सबै दल सहमत भएपनि आफ्नो अडान नछोडेपछि बैठक स्थगित भएको हो।
विप्लव समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल र राजपाका कार्यकर्ता सरोजनारायण सिंहको प्रहरीको गोली लागि मृत्यु भएको घटना छानवीन गर्न संसदीय छानविन समिति गठनको माग गर्दै नेपाली कांग्रेस र राजपाले असार २४ गते देखि सदन अवरुद्ध गर्दै आएका छन्।
पौडेल लालबन्दी नगरपालिका लखनदेहीको जंगलमा प्रहरीसंगको मुठभेडमा मारिएको भन्ने सरकारी दाबी सही नभएको भन्दै कांग्रेसले घटनाको सत्य तथ्य छानविन हुनुपर्ने माग गर्दे आएको हो।
त्यसैगरी सर्लाहीको श्रीनगरस्थित बाँके खोलामा अबैध बालुवा खन्ने क्रममा बनेको खाल्डोमा डुबेर बालक अमित कुमार रायको मृत्यु भएपछि भएको प्रर्दशनका क्रममा प्रहरीे चलाएको गोली लागि सिंहको मृत्यु भएको थियो।
बाढी पहिरो सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल गर्नका लागि साउन ८ गतेको बैठक भने सुचारु गरिएको थियो। बैठकमा सत्तापक्षबाट नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, संघीय समाजवादी पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, नेकपा प्रमुख सचेतक देव गुरुङ सहमति थिए भने प्रमुख प्रतिपक्षबाट कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदार, प्रमुख सचेतव बालकृष्ण खाँड, मिनेन्द्र रिजाल, राजपाबाट महन्थ ठाकुर, राजकिशोर यादव, लक्ष्मणलाल कर्णलगायतको उपस्थिति थियो।
Facebook Comment