इबोला संकटः रुवान्डाद्वारा कंगोसँगको सीमा बन्द

डिसी नेपाल
१६ साउन २०७६ १५:४२

गोमा, कंगो। अफ्रिकी मुलुक कंगोमा प्राणघातक इबोलाको संक्रमण बढ्दै गएको संकेत देखिएसँगै रुवान्डाले कंगोसँगको सीमा बन्द गरेको छ।

छिमेकी मुलुक रुवान्डाले कंगोको सीमावर्ती शहर गोमामा तीन व्यक्तिमा इबोलाको संक्रमण देखिएपछि रुवान्डाले सीमा बन्द गरेको हो।

कंगोका राष्ट्रपतिको कार्यालयले जारी गरेको पछिल्लो विज्ञप्तिमा रुवान्डाले एकपक्षीय रुपमा नाका बन्द गरेको उल्लेख छ। यहाँ दैनिक जीवनयापनका लागि स्थानीय मानिसहरु सीमावर्ती शहरमा ओहोरदोहोर गर्ने प्रचलन छ। कंगोले मानिसको दैनिक जीवनमै असर पार्ने गरी सीमा बन्द गरेको भन्दै आपत्ति जनाएको छ।

रुवान्डाको पछिल्लो कदमबाट करिब २० लाख जनसंख्या बसोबास गर्ने गोमा शहर र रुवान्डाको करिब ८५ हजार जनसंख्या रहेको गिसेन्यीबीचको आवतजावत बन्द भएको छ।

रुवान्डाको पछिल्लो निर्णयले ठूलो संख्याका कंगोली नागरिक र रुवान्डाको गिसेन्यीमा रहेका विदेशीलाई गोमा भ्रमणमा कठिनाई हुने पनि कंगोले जनाएको छ।

सन् २०१८ को अगष्टयता कंगोमा फैलिएको इबोलाका कारण एक हजार ८०३ जनाको ज्यान गइसकेको छ। गोमा शहरमा संक्रमित तीन जनामध्ये दुई व्यक्तिको मृत्यु भइसकेको छ। स्वास्थ्य अधिकारीहरुले शहरी इलाकामा यो रोगको संक्रमण अझ तिब्र हुने बताएका छन्। (रासस/एएफपी)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *