ट्राफिकले जरिवाना तिराएको रिसमा विद्युत कर्मचारीले प्रहरी चौकीको लाइन काटिदिए

आगरा। बिग्रिएको विद्युत लाइन बनाउन गइरहेका विद्युतका प्राविधिक (लाइनम्यान)ले मोटरसाइकल चलाउने क्रममा ट्राफिक नियम तोडेको भन्दै ट्राफिक पुलिले उनलाई जरिवाना तिराए र यातायात नियमको पाठ पढाए । त्यसपछि ट्राफिक पोस्टका इन्चार्जले पनि विद्युतका इन्जिनियरलाई फोन गरेर नियमको पाठ पढाए । यसबाट आक्रोशित लाइनम्यानले लामो समयदेखि विद्युत महसुल तिर्न बाँकी रहेको प्रहरी चौकीको लाइन काटिदिए र चौकी इन्चार्जलाई विद्युतको नियमको पाठ पढाए । करिब अढाइ घण्टा चौकीको विद्युत आपूर्ति बन्द भयो ।
मंगलबार भारतको उत्तर प्रदेशको फिरोजाबादमा ट्राफिक चेकिङ भइरहेको थियो । त्यही बाटो लाइनम्यान श्रीनिवास बिग्रिएको विद्युत बनाउन जाँदै थिए । ट्राफिकले उनलाई रोके र हेल्मेट नलगाएको भन्दै जरिवाना तिराए । लाइनम्यानले आफू बिग्रेको विद्युत बनाउन जान लागेको भन्दै आफ्ना इन्जिनियरलाई फोन गरेर ट्राफिकँग कुरा गराए । तर, ट्राफिकले उल्टै इन्जिनियरलाई नै ट्राफिक नियमको पाठ पढाए ।
जरिवाना तिरेको कुरा लाइनम्यानले विद्युत विभागका उच्च अधिकारीहरुलाई बताए । त्यसपछि विद्युत विभागले प्रहरी चौकीकै हुर्मत लियो । चौकीले ६ लाख ६२ हजार ४६३ रुपैयाँ विद्युत महसुल तिर्न बाँकी थियो । लाइनम्यानले पनि समयमा महसुल नतिर्नेमाथि कारवाहीस्वरुप चौकीको लाइन काटिदिए । जसका कारण रातको समयमा त्यहाँ काम ठप्प भयो ।
Facebook Comment