खतरनाक सीमा पार गर्दै उत्तरकोरियाली सैनिक दक्षिण कोरिया पुगेपछि..

डिसी नेपाल
१६ साउन २०७६ १७:४४

प्योङयाङ (बीबीसी) । कडा सुरक्षाव्यवस्था भएको दुई देशको सीमा पार गर्दै दक्षिण कोरिया प्रवेश गरेका एक उत्तर कोरियाली सैनिकलाई नियन्त्रणमा लिइएको दक्षिण कोरियाली सेनाले बताएको छ ।

दक्षिण कोरियाले जडान गरेको विशेष खालको थर्मल इमेजिङ उपकरणमा ती सैनिक बुधवार राति सो क्षेत्रमा आएको पत्ता लागेको थियो ।

दक्षिण कोरियाको सेनाका अनुसार परिचय स्पष्ट नभएका ती उत्तर कोरियाली सैनिकले शरण लिने इच्छा देखाएका छन् ।

दर्जनौँ मानिसहरू प्रत्येक वर्ष उत्तर कोरिया छोडेर भाग्छन् । तर डीएमजेड भनिने कडा सुरक्षा व्यवस्था भएको असैनिकीकृत क्षेत्र पार गरेर भाग्ने घटना अतिदुर्लभ र धेरै खतरनाक हो ।

सन् २०१७ को नोभेम्बरमा भागेर दक्षिणतिर जना लागेका एक सैनिकलाई उनका सहकर्मीहरूले ४० चोटि गोली हानेका थिए ।

सन् २०१७ मा यसरी एक सैनिक भागेर दक्षिण कोरियातिर छिर्न खोजेका थिए
डीएमजेडको दुईपट्टि दुवै देशका हजारौँ सैनिकहरू खटेका हुन्छन् ।

कोरियाली प्रायःद्वीपको पश्चिममा उत्तर कोरियाबाट बगेर दक्षिणतिर आएको इम्जिन नदीनजिकै बुधवार मध्यरातपछि ती सैनिकलाई पहिलो पटक देखिएको थियो ।

त्यसपछि दक्षिण कोरियाली सैनिकहरूले उनलाई आफ्नो नियन्त्रणमा लिए ।

यो घटना दक्षिण कोरियाले मध्यम दुरीका दुई क्षेप्यास्त्र प्रक्षेपण गरेको भोलिपल्ट भएको हो ।

उत्तरको सरकारी सञ्चारमाध्यम केसीएनएले देशका सर्वोच्च नेता किम जङ–अनको उपस्थितिमा नयाँ क्षेप्यास्त्रको परीक्षण भएको जनाएको छ ।

उक्त परीक्षण दक्षिण कोरिया र अमेरिकाका सेनाले गर्ने भनेको अभ्यासलाई चेतावनी दिन गरिएको उत्तरको भनाइ छ ।

कोरियाली प्रायःद्वीपमा भगौडाहरू सामान्यतया उत्तर कोरियाली हुन्छन् जो आफ्नो देशबाट भागेर लोकतान्त्रिक र सम्पन्न रहेको दक्षिण कोरिया जान खोज्छन् । र, यसरी भाग्ने काम निकै खतरनाक हुन्छ ।

सोलका अनुसार सन् १९५३ मा कोरियाली युद्ध सकिएयता ३० हजारभन्दा बढी उत्तर कोरियालीहरू गैरकानुनी रूपमा दक्षिण कोरिया आएका छन् ।

दक्षिण कोरियाली तथ्याङ्कअनुसार पछिल्ला वर्षमा चाहिँ उत्तर कोरियाली भगौडाहरूको संख्यामा केही कमी आएको छ ।

सन् २०११ मा २,७०६ जना भागेर आएकोमा सन् २०१७ मा यो संख्या घटेर १,१२७ रहेको थियो ।
केही घटनामा त गोलीको समेत परवाह नगरी सैनिकहरू हिँडेरै सीमा कटेका छन् ।

अधिकांश भगौडा चीन भएर दक्षिण कोरिया पुग्छन् । उत्तर कोरियासँग चीनको लामो सीमा जोडिएको छ ।

कडा सुरक्षा भएको दुई कोरियाबीचको असैनिकीकृत क्षेत्रबाट भाग्नुभन्दा त्यसरी जानु सहज मानिन्छ ।

चीनले भगौडाहरूलाई गैरकानुनी आप्रवासीको रूपमा लिइन्छ र प्रायः उनीहरूकै देश फर्काइदिन्छ ।

दक्षिणबाट भागेर उत्तर कोरिया जाने घटना चाहिँ निकै विरल हुन्छ र उनीहरू तथाकथित ‘दोहोरो भगौडा’ हुन्, जो पहिला उत्तर कोरियाबाट भागेर दक्षिण पुगे र फेरि दक्षिणबाट उत्तर पुग्छन् ।

सन् १९९० को दशकको मध्यतिर भोकमरीका कारण उत्तर कोरियामा हजारौँ मानिस मारिएको ठानिएका बेला त्यस्तो घटना चाहिँ धेरै सामान्य थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *