उपराष्ट्रपतिसँग पुन र मोरक्कोका राजदूतबीच भेटवार्ता, के-के भयो कुराकानी ?

डिसी नेपाल
१७ साउन २०७६ १८:२८

काठमाडौं। उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि मोरक्को अधिराज्यका राजदूत मोहम्मद मल्लिकीले शुक्रबार शिष्टाचार भेट गरेका छन्।

उपराष्ट्रपति भवनमा भएको भेटमा दुई देशबीचको सम्बन्ध र सहकार्यका विविध पक्षमा कुराकानी भएको थियो। उपराष्ट्रपति पुनले नेपाल र मोरक्कोबीचको सम्बन्धलाई जनस्तरसम्म फैलाएर आपसी सहयोग र सहकार्यलाई फराकिलो बनाउनुपर्ने बताएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्ती मगरले जानकारी दिए।

नेपालले राजनीतिक स्थायित्व हासिल गरेर ‘समृद्ध नेपाल, सुखी नेपाली’को नाराका साथ विकास र समृद्धिको मार्गमा अगाडि बढेको बताउँदै उपराष्ट्रपति पुनले मोरक्कोलाई लगानीका लागि आग्रह गर्नुभएको जनाइएको थियो।

नेपाल र मोरक्कोको औपचारिक सम्बन्ध स्थापना भएको ४४ वर्ष पुगेको छ। भेटमा राजदूत मल्लिकीले नेपाल मोरक्कोको असल मित्रराष्ट्र भएको बताउँदै कृषिलगायत विविध क्षेत्रमा सहकार्य गर्न तयार रहेको बताए। उनले नेपालको कृषि क्षेत्र मोरक्कोको प्राथमिकतामा रहेको जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *