द एसेजः बर्नसको शतकमा अष्ट्रेलियालाई इंग्ल्याण्डको ठोस जवाफ
लण्डन (एजेन्सी)। इंग्ल्याण्डको बर्मिघममा जारी इंग्ल्याण्ड र अष्ट्रेलियाबीचको पहिलो टेष्ट क्रिकेटको दोस्रो दिन घरेलु टिम इंग्ल्याण्डले ४ विकेटमा २६७ रन बनाएको छ ।
शुक्रबार दोस्रो दिनको खेल सकिँदासम्म इंग्लिश ओपनर रोरी बर्नसले १२५ रन बनाएर नआउट फर्किए भने बेन स्टोक्सले ३८ रन बनाएर उनलाई साथ दिइरहेका छन्। यी दुईबीच पाँचौ विकेटका लागि ७३ रनको साझेदारी भइसकेको छ ।
इंग्ल्याणडले शुक्रबारको खेल १० रनको अवस्थाबाट खेल्न शुरु गरेको थियो । बिहानी सत्रमा उसका ओपनर जेसन रोय सस्तैमा आउट भए । करिअरको दोस्रो टेष्ट खेलिरहेका रोय १० रन बनाउँदै जेम्स प्याटिसनको शिकार भए। यसपछि मैदानमा आएका कप्तान जोय रुटले अर्धशतक बनाउनेक्रममा ५७ रन बनाए भने जेइ डेन्ली १८ रनमा आउट भए। जोस बटलर ५ रनमा पेभेलियन फर्किए।
पहिलो इनिंगका आधारमा दोस्रो दिनको खेल समाप्त हुँदा अष्ट्रेलियालाई १७ रनको झिनो अग्रता छ । एकतिरबाट विकेट गए पनि इंग्लिश ओपरन बर्नसले करिअरको पहिलो शतक बनाउँदै टिमलाई सम्हालेका हुन्।
अष्ट्रेलियाका लागि जम्प प्याटिसनले २ तथा पिटर सिडल र पाट कमिन्सले एक एक विकेट लिएका छन्। यसअघि टस जितेर पहिला ब्याटिंग गरेको अष्ट्रेलियाका लागि स्टिभन स्मिथले १४४ रन बनाउँदै अष्ट्रेलियालाई सम्मानजनक स्कोरसम्म पुर्याएका थिए। सिडलले ४४ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले राम्रो ब्याटिंग गर्न सकेनन्।
इंग्ल्याण्डका स्टुअर्ट ब्रोडले ५ विकेट लिएका थिए। द एसेज सिरिजलाई आईसीसी विश्व टेष्ट च्याम्पियन्सको खेलमा पनि समावेस गरिएको थियो। आईसीसीले पहिलो पटक शुरुआत गरेको टेष्ट च्याम्पिसियनको यो पहिलो खेलसमेत हो।
Facebook Comment