मेस्सीलाई ५० हजार डलर जरिवानासहित तीन महिनाको प्रतिबन्ध
![मेस्सीलाई ५० हजार डलर जरिवानासहित तीन महिनाको प्रतिबन्ध](https://www.dcnepal.com/wp-content/uploads/2019/08/Messi.jpg)
एजेन्सी । अर्जेन्टिनी स्टार लियोनल मेस्सीलाई अन्तर्राष्ट्रिय फुटबलमा तीन महिनाको प्रतिबन्ध लागेको छ । कोपा अमेरिकी फुटबलमा भ्रष्टचारको आरोप लगाएका मेस्सीलाई अन्तर्राष्ट्रिय फुटबलबाट तीन महिनाको प्रतिबन्ध लगाईएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।
गएको महिना ब्राजिलमा सम्पन्न भएको कोपा अमेरिका फुटबलको क्रममा मेस्सीले दक्षिण अमेरिकी फुटबलको प्रशासकीय निकाय (कोनमेबोल) ले आयोजना गरेको कोपा अमेरिका फुटबल भ्रष्ट रहेको बताएका थिए । सोही टिप्पणीका कारण मेस्सीमाथि तीन महिनाको प्रतिबन्ध लागेको हो ।
३२ बर्षका अर्जेन्टिनी फरवार्डले कोपा अमेरिकामा ब्राजिललाई उपाधि जिताउन मिलोमतो गरिएको गम्भिर आरोप लगाएका थिए । उनले दक्षिण अमेरिकी फुटबलमा चरम भ्रष्टचार हुने गरेको आरोप लगाउँदै पदक लिन समेत अस्विकार गरेका थिए । चिलीविरुद्ध तेस्रो स्थानका लागि भएको प्लेअफमा मेस्सी रातो कार्ड खादै मैदान बाहिरिएका थिए । सो खेल अर्जेन्टिनाले २–१ ले जितेको थियो ।
दक्षिण अमेरिकी फुटबल महासंघले मेस्सीलाई तीन महिनाको प्रतिबन्धसंगै ५० हजार अमेरिकी डलर जरिवाना समेत गरेको छ । कोनमेबोलको निर्णय विरुद्ध मेस्सीले अपिल गर्नको लागि सात दिनको समय दिइएको छ । उक्त अपिल खारेज भएमा मेस्सी चिली, मेक्सिको र जर्मनीविरुद्व सेप्टेम्बर र अक्टोबरमा खेल्ने मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाको टिममा हुनेछैनन्।
अर्जेन्टिनाले सन् २०२२ को विश्वकप छनोट सन् २०२० को मार्चबाट सुरु गर्नेछ । कोपा अमेरिकामा अर्जेन्टिना सेमिफाईनलमा आयोजक ब्राजिलसंग २–० ले हारेको थियो । सो क्रममा अर्जेन्टिनी फुटबल संघले मैदानको बिषयलाई लिएर गम्भिर आलोचना व्यक्त गरेका थिए । दक्षिण अमेरिकी फुटबल महासंघले मेस्सीले लगाएको आरोप निराधार रहेको र त्यसमा सम्मानको कमी देखिएको बताएको छ ।
Facebook Comment