आज रोहित शर्माको नाममा हुन सक्छन् टि–२० क्रिकेटका अधिकांश ठूला विश्वरेकर्ड
काठमाडौं। भारतीय क्रिकेट टिमका उपकप्तान रोहित शर्माले आज टि–२० अन्तर्राष्ट्रिय क्रिकेटका अधिकांश ठूला रेकर्ड आफ्नो नाममा बनाउन सक्छन् । टि–२० अन्तर्राष्ट्रियका २ विशाल विश्वरेकर्ड रोहित शर्माको नाममा पहिल्यै छन् ।
रोहित टि–२० अन्तर्राष्ट्रियमा सर्वाधिक शतक हान्ने खेलाडी हुन् । उनले ४ शतक हानेका छन् । उनीपछि दोस्रो स्थानमा अस्ट्रेलियाका ग्लेन म्याक्सवेल र न्यूजिल्याण्डका कोलिन मुनरो छन् । दुवैले ३–३ शतक हानेका छन् । टि–२० मा २ अन्तर्राट्रिय शतक हान्ने खेलाडी भने धेरै छन् । वेष्ट इण्डिजका क्रिस गेल, न्यूजिल्याण्डका ब्रेण्डन म्याकुलन, अस्ट्रेलियाका आरोन फिन्च, भारतका लोकेश राहुल, न्यूजिल्याण्डका मार्टिन गुप्टिन, वेष्ट इण्डिजका इविन लेविसले २ अन्तर्राष्ट्रिय शतक हानेका छन् ।
टि–२० अन्तर्राष्ट्रिय क्रिकेट करिअरमा सबैभन्दा धेरै रन बनाउने ब्याट्सम्यान पनि रोहित शर्मा नै हुन् । २३३१ रन बनाएका छन् । दोस्रो स्थानमा २२७२ रन बनाएका न्यूजिल्याण्डका मार्टिन गुप्टिल छन् । तेस्रो स्थानमा भारतीय कप्तान विराट कोहली र पाकिस्तानका शोएब मलिक छन् । कोहली र मलिक दुवैले २२६३ रन बनाएका छन् । आज कोहली पनि खेल्ने भएकोले उनलाई दोस्रो स्थानमा पुग्ने अवसर छ ।
आज रोहितले टि–२० अन्तर्राष्ट्रियमा सर्वाधिक छक्का हान्ने ब्याट्सम्यानको रेकर्ड पनि बनाउन सक्छन् । अहिले टि–२० मा सर्वाधिक छक्का हान्ने ब्याट्सम्यान वेष्ट इण्डिजका क्रिस गेल हुन् । गेलले अहिलेसम्म १०५ छक्का हानेका छन् । आजको खेल वेष्ट इण्डिजविरुद्ध नै भए पनि गेल टि–२० टिममा नभएकोले गेलको छक्का बढ्ने सम्भावना छैन । दोस्रो स्थानमा १०३ छक्कासहित न्यूजिल्याण्डका मार्टिन गुप्टिल र तेस्रोमा १०२ छक्कासहित रोहित शर्मा छन् । रोहितले आज ४ छक्का हान्न सके उनले गेललाई उछिन्नेछन् ।
आज विराट कोहलीसँग पनि अर्को विश्वरेकर्ड तोड्ने अवसर छ । कोहली टि–२० अन्तर्राष्ट्रियमा सर्वाधिक चौका हान्ने खेलाडीको सूचीमा पहिलो स्थानमै छन् तर उनको यो रेकर्ड श्रीलंकाका तिलकरत्ने दिलशानसँग संयुक्त रुपमा छ । दुवैले २२३ चौका हानेका छन् । आज कोहलीले एउटा मात्र चौका हान्दा यो रेकर्ड कोहली एक्लैको नाममा हुनेछ ।
Facebook Comment