१०० सडक बालबालिकालाई निःशुल्क अध्यापन

डिसी नेपाल
१८ साउन २०७६ १४:०५

काठमाडौं। विभिन्न कारणले सडकमा आउन बाध्य भएका र दुःख पाएका बालबालिकाका लागि बाल सारथी सामाजिक संस्थाले निःशुल्क पठनपाठनको व्यवस्था गरेको छ।

जयवागेश्वरीमा १०० जना यस्ता बालबालिकाका लागि बिहानी खानासहित निःशुल्क अध्यापन व्यवस्था गरिएको हो। बाल सारथी एकेडेमीको नाममा स्थापित यो विद्यालयमा हाल कक्षा ५ सम्म गरी ५४ छात्रा र ४६ छात्र अध्ययरत छन्।

बाल सारथीको १३औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा प्रदेशसभा सदस्य नरोत्तम वैद्यले संस्थाले सडकमा भविष्य खोजिरहेका बालबालिकालाई शिक्षा दिएर उदाहरणीय काम गरेको बताए। प्रेदेश नं.३ सरकारका तर्फबाट विद्यालय भवन बनाउन आफूले पहल गरिदिने प्रतिबद्धता पनि उनले जनाए।

विद्यालय भवन बनाउन गुह्येश्वरीमा दाता अस्मिता सुमार्गीले एक वर्ष अघि १७ आना जग्गा किनिदिएकी छन्। प्रदेश सरकारको सहयोगमा गुह्येश्वरीमै विद्यालय भवन निर्माण गर्ने तयारी गरिएको छ।

नेपाल बैंक लिमिटेडबाट सेवा निवृत्त भएका पाटन ललितपुरका मदनकुमार श्रेष्ठले उपदान स्वरुप पाउनुभएको पाँच लाख अक्षयकोषमा राखिदिएका छन्। अक्षयकोषको ब्याजबाट आउने पैसाले विद्यार्थीका लागि कापी, किताब, झोला, सिसाकलमलगायत शैक्षिक सामग्री किनिदिने गरेको अध्यक्ष माला खरेलले राससलाई जानकारी दिइन्।

कार्यक्रममा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष नरेन्द्रराज बस्नेत, नायक प्रदीप खड्का, संस्थाका अध्यक्ष खरेल लगायतले परित्यक्त भई सडकमा आउन बाध्य एवं विपन्नताका कारण अध्ययन गर्न नसक्नेका लागि निःशुल्क पठनपाठनको व्यवस्था गरिएको बताएका थिए।

सस्थाले चलाएको विद्यालयमा कक्षा पाँचसम्म अध्यापन हुन्छ। कक्षा ६ देखि भने त्यसै क्षेत्रका विभिन्न विद्यालयमा अध्ययनको व्यवस्था मिलाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *