प्रहरी चौकीमै हमला गरी ५ थुनुवाको हत्या

डिसी नेपाल
१८ साउन २०७६ १४:४७

सिले, मेक्सिको। मध्य मेक्सिकोको एक प्रहरी चौकीमा अज्ञात बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा त्यस चौकीमा थुनामा राखिएका पाँचजना थुनुवाको ज्यान गएको यहाँका प्रहरी अधिकारीले जनाएका छन्।

थुनामा राखिएका ती व्यक्तिलाई नै लक्ष्य गरेजस्तो गरी कैयौँको संख्यामा आएका ती बन्दुकधारीले मध्य मेक्सिकोको ग्वान्जुतो राज्यको उक्त प्रहरी चौकीमा गोली चलाएका थिए।
उक्त प्रान्तका प्रान्तीय प्रहरी प्रवक्ता जुआन जोस मार्टिनेजले दिएको जानकारीअनुसार त्यस गोली प्रहारमा परी पाँच जना थुनुवा मारिएका छन्। तर ती थुनुवालाई के कति कारणले थुनामा राखिएको थियो भन्ने बारेमा भने उनले केही बताएका छैनन्।

उक्त प्रान्त मेक्सिकोको एक ठूलो औद्योगिक क्षेत्रमा पर्दछ। त्यहाँ कार निर्माणका ठूलो कारखानाहरु रहेका छन्। यस कारण पनि यस क्षेत्रमा आपराधिक गतिविधि सञ्चालन गर्ने विभिन्न समूहहरु जाने गर्दछन्।

तर पनि त्यस क्षेत्रमा सरकारले ठूलो सुरक्षा प्रबन्ध गर्न नसकेको गुनासो उद्यमी व्यवसायीहरुको हुने गर्दछ। मेक्सिकोमा अवैध रुपमा लागू औषध ओसारपसार गर्ने विभिन्न आपराधिक समूहहरु विगतदेखि नै सक्रिय रही आएका छन्।

यस आक्रमणमा पनि तिनै समूहहरुको हात हुनसक्ने प्रहरीले जनाएको छ। तर यो कुराको आधिकारिक रुपमा पुष्टि हुन भने सकेको छैन। प्रहरीले आक्रमणकारी आक्रमणकारी को हुन् र किन प्रहरी चौकीमा हमला गरेका हुन् भन्ने बारेमा खोजी थालेको बताएको छ। रासस/एएफपी




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *