पूँजी बजारमा चिकित्सकले पनि चाँसो

डिसी नेपाल
१८ साउन २०७६ १६:५८

खस्यौली । रुपन्देहीस्थित बुटवलमा पूँजी बजारका विषयमा चिकित्सकले पनि चाँसो देखाउन थालेका छन्।

सफल नेपाल इन्भेष्टमेण्ट कम्पनी र लगानी स्कुलको संयुक्त आयोजनामा आज भएको शेयर बजार अभिमुखीकरणमा मेडिटेक अस्पताल बुटवलका बालरोग विशेषज्ञ डा विकास भण्डारी सहभागी भएका थिए।

‘मैले मेरो पेशाबाट आम्दानी गरेको रकम शेयर बजारमा लगानी गर्न चाहन्छु’ उनले भने। उनले शेयर बजारमा प्रवेश गर्नुपूर्व बुझेर मात्रै लगानी गर्नुपर्छ भन्ने मान्यता भएकाले अभिमुखीकरणमा सहभागी भएको उल्लेख गर्दै शेयर बजारको आधारभूत कुरा सिक्दै छु भने।

चिकित्सक बाहेक, प्राध्यापक, इञ्जिनीयर, गृहणीलगायतका क्षेत्रबाट पूँजी बजारका बारेमा चासो राख्ने कार्यक्रममा सहभागी छन्।

कम्पनी र लगानी स्कुलले आयोजना गरेको यो ८ औँ कार्यक्रम हो। खासगरी यो अभिमुखीकरणमा नवलपरासी, कपिलवस्तु, गुल्मी, पाल्पा, कैलाली, बर्दियालगायतका जिल्लाबाट ५१ जना सहभागी छन्।

शेयर लगानीकर्ता सङ्घका केन्द्रीय सदस्य मुकुन्द भट्टराइले प्रदेश नं ५, ६ र ७ मा शेयर बजारको सम्भावना भएकाले यी प्रदेशमा शेयर शिक्षा अनिवार्य भएको बताए।

सफल नेपाल इन्भेष्टमेण्ट कम्पनीका अध्यक्ष कमल तिवारीले प्रदेश नं ५ मा भिन्दै ब्रोकर लाइसेन्स खुलाउन माग गर्दै शेयर शिक्षा लिएर प्रवेश गर्नेहरु जिरोबाट हिरो हुन्छन् भने।

नेपाल पूँजी बजार लगानीकर्ता सङ्घका प्रदेश सह–संयोजक सूर्य पाण्डेले प्रदेशमा लगानी सम्मेलन हुने सन्दर्भमा बुटवलमा शेयर बजारको ज्ञानले अर्थतन्त्रको विकास गर्न टेवा पुग्ने विश्वास व्यक्त गरे।

प्रदेश नं ५ लगानीकर्ता फोरमका उपाध्यक्ष गोपीराज भुसालले प्रदेशभरीका १२ जिल्लामा नै शेयर शिक्षा आवश्यक भएको बताए। सो अभिमुखिकरणमा सन्तोषराज बजगाईंले सहजीकरण गरेका थिए। बुटवलमा ५ र भैरहवामा १ गरी ६ ब्रोकर कार्यालय छन् जहाँ दैनिक रु एक करोडको कारोवार हुदैं आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *