‘दहचोकलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्छ’

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दहचोकमा रहेको कालु पाण्डेको समाधिस्थललाई नमूना पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्ने बताएका छन्।
धार्मिक, ऐतिहासिक तथा पर्यटकीय क्षेत्र दहचोकस्थित पाण्डेको समाधिस्थलको आज निरीक्षण गर्दै उनले निर्माणाधीन भ्यूटावरलाई आधुनिक प्रविधि र उपकरणको व्यवस्था गरी पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्ने बताए।
‘कालु पाण्डे समाधिस्थल र भ्यूटावर रहेको क्षेत्रको जग्गा अधिग्रहण गरी राष्ट्रिय उद्यान निर्माण गर्नुपर्छ’, उनले भने। अध्यक्ष तिमल्सिनाले उक्त क्षेत्रमा भूमाफियाले कब्जा गर्ने दृष्टि राख्न सक्ने भन्दै स्थानीय तहले घुमफिरको क्षेत्रका रुपमा विकास गर्नुपर्ने उल्लेख गरे।
सांसद कृष्णगोपाल श्रेष्ठले समग्र चन्द्रागिरिको पर्यटकीय विकासका लागि जनप्रतिनिधिको हिसाबले आफू लागिरहेको बताए। निरीक्षण टोलीमा अर्थ मन्त्रालयका बजेट महाशाखा प्रमुख हरिशरण पुडासैनी, चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी, उपप्रमुख लिसा नकर्मी, कार्यकारी प्रमुख युवराज पौडेल, चन्द्रागिरि–१ का अध्यक्ष राजेन्द्र केसी, दहचोक पर्यटन विकास समितिका अध्यक्ष हरिशरण थापालगायत सहभागी थिए।
सो अवसरमा अध्यक्ष तिमिल्सिनाले ऐतिहासिक इन्द्रस्थान, कोतघर, पृथ्वीनारायण शाहले मुलुक एकीकणको समयमा निर्माण गरेको गढी, मनकामना मन्दिर उद्यानलगायतको स्थलगत अवलोकन गरेका थिए।
Facebook Comment