पहिलो ओभरमा कुटिएका सन्दीपद्वारा दोस्रो ओभरमा घातक बलिंग
काठमाडौं। क्यानडामा जारी ग्लोवल टि ट्वान्टी प्रतियोगितामा शनिबार पहिलो खेल खेलिरहेका सन्दीप लामिछानले पहिलो सफलाता पाएका छन्।
आफ्नो टोरन्टोका तर्फबाट ब्राम्पटन वुल्भविरुद्ध खेलिरहेका सन्दीपले पहिलो ओभरमा २४ रन लुटाए पनि दोस्रो ओभरमा भने घातक बलिंग गरेका छन्। उनले आफ्नो दोस्रो ओभरमा न्यूजील्याण्डका खतरनाक ब्याट्सम्यान कोलिन मुनरोलाई न्यूजिल्याडकै खेलाडी मिचेल म्याक्लिघनको हातबाट क्याच आउट गराएका हुन् ।
शाहिद अफ्रिदीको कप्तानीमा रहेको ब्राम्पटनले पहिला ब्याटिंग गरिरहेको छ । जारी सिजनमा पहिलो पटक मौका पाएका सन्दीपले पहिलो ओभरमै रन लुटाएका छन्। टिमका लागि पाँचौ ओभरमा बलिंग गर्न आएका सन्दीपले पहिलो बलमै चौकाबाट स्वागत पाए। दोस्रो बल डट फालेका सन्दीपले त्यसपछिका दुई बलमा लगातार चौका र अन्तिम दुई बलमा लगातार २ छक्का खाएका छन् ।
सन्दीपले एक ओभरमा २४ रन दिएपछि ब्राम्पटनले ५ ओभरमा ६० रन जोडेको छ । सन्दीपलाई स्कटल्याण्डका ओपनर ब्याट्सम्यान जर्ज मुन्सीले पिटेका हुन्।
सन्दीपले आफ्नो दोस्रो ओभर आठौं ओभरमा गरेका हुन् ।
ग्लोवल टि ट्वान्टीको पहिलो सिजनमा पनि खेलेका सन्दीपले जारी सिजनमा शनिबार पहिलो पटक खेल्ने मौका पाएका हुन्।
सन्दीप आवद्ध टोरेन्टो नेशनल्स र ब्राम्पटन वुल्भबीच अहिले ब्राम्पटनमा खेल भइरहेको छ । टोरेन्टोको कप्तान भारतीय खेलाडी युवराज सिंह छन्। जारी सिरजनमा टोरेन्टोले आफुले खेलेका ३ मध्ये एक खेलमा जित हात पारेको छ ।
Facebook Comment