ग्लोबल टी–२०ः डेब्यु खेलमै सोमपालको महंगो बलिङ, विन्नीपेगको लगातार दोस्रो हार
एजेन्सी । क्यानडामा जारी ग्लोबल टी–२० मा सोमपाल आवद्ध टिम विन्नीपेग हक्सले लगातार दाेस्राे हार ब्यहाेरेको छ। ब्राम्पटनस्थित सीएए सेन्टरमा भएको खेलमा हक्स एडमन्टन रोयल्ससँग ८ विकेटले पराजित भएको हो। शनिबार राति भएको खेलमा नेपाली तीव्र गतिका बलर सोमपालले पहिलो पटक विदेशी लिगमा डेब्यु गरेका थिए। तर उनले आफ्नो पहिलो खेलमा नै प्रभाव पार्न सकेनन्। २ ओभर बलिङ गरेका उनले ३३ रन खर्चिएर विकेटविहिन रहे।
१९६को लक्ष्य पछ्याएको रोयल्सले १७.४ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो। रोयल्सका अंशुमान राठले विस्फोटक ब्याटिङ गर्दै ८७ रनको नटआउट पारी खेले । उनले ५० बलमा ९ चौका र ४ छक्का लगाएका थिए। यस्तै कप्तान मोहम्मल हफिजले ३० बलमा ५५ रन बनाए। यसैगरी जिमी निशामले ११ बलमा २८ रनको विस्फोटक पारी खेलेर रोयल्सलाई सहज जित दिलाए। हक्सका कलिम सना र पाउल मिकरेनले १–१ विकेट लिए।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको हक्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९५ रन बनायो। हक्सका शाइमन अनवरले ६२ रनको अर्धसतकिय पारी खेले। उनले ३५ बलमा १० चौका र २ छक्का लगाए। यस्तै जेपी डुमिनिले ४८ रन बनाउँदा क्रिश लिनले ३३ रन बनाए। रोयल्सका शादाब खानले ३ विकेट लिए भने बेन कटिङले २ विकेट लिए।
५ खेलमा ३ खेल हारेको विन्नीपेग अंक तालिकाको चौथो स्थानमा रहेको छ भने एडमन्टन अन्तिममा रहको छ।
Facebook Comment