फल्न छाड्यो गुराँसेको स्याउ
सुर्खेत। एक समय दैलेख र सुर्खेत जिल्लाको सीमा क्षेत्र रानीमत्ता–गुराँसे स्याउका लागि प्रख्यात थियो । घर–घरमा स्याउका बगैंचा देखिन्थे। यात्रुहरु स्याउको स्वाद चाख्नकै लागि त्यहाँ विश्राम लिने गर्दथे। गुराँसेको स्याउले दैलेख, सुर्खेत र नेपालगञ्जसम्म बजार पाएको थियो। दैलख, जाजरकोट, कालीकोट र जुम्ला लगायतका जिल्लाबाट तराई झर्ने मुख्य नाका भएकाले यहाँ स्याउको स्वाद नलिने कमै थिए। कोशेलीका रुपमा पनि यात्रुहरुले स्याउ किनेर लैजान्थे।
गुराँसेको स्याउ भने अब इतिहास बनिसकेको छ। पछिल्लो एक दशकयता गुरा“से–रानीमत्ता क्षेत्रमा स्याउका बोट देखिन छाडेका छन्। लटरम्मै फलेका स्याउ देखेका त्यतिबेलाका पैदल यात्रीहरु आजभोलि बोट समेत नदेख्दा अचम्मित छन्। गुराँसे बजार भारतीय स्याउले ओगटेको छ।
गुराँसे लेकाली हावापानी भएको क्षेत्र हो। विसं २०४० मा दैलेखको माथिल्लो गाइबान्ना, रानीमत्ता र गुराँसेका बासिन्दाले ‘रेड गोल्डेन’ जातको स्याउ रोपे। बगैंचा बनाउन ऋण सापट गरी जुम्लादेखि बोटहरु खरिद गरे। शुरु–शुरुमा रामै्र फल्यो। स्याउबाट मनग्य कमाउने कृषकको आशा धेरै वर्ष टिकेन। बोटहरु सुक्दै गए। तापमान वृद्धिकै कारण स्याउ बगैंचा फाँडेर ४० भन्दा बढी कृषकहरु अहिले व्यावसायिक तरकारी गरिरहेका छन्।
सेरी गाइबान्नाका कृषक रुद्रप्रसाद पौडेलले कृषि विकास बैंकबाट झिकेको ऋण नतिर्दै स्याउका बोटहरु सुकेको गुनासो गरे। “बचेका बोटको फल पनि राम्रो लागेन, हावापानीले मेल नखाएपछि बगैंचा फाड्नुपर्यो,” उनले भने– “अहिले आलु, काउली, बन्दा, मुला लगायतका तरकारी खेती गरेका छौं।” किसानले १५ देखि ५०० बोटसम्म रोपेका थिए। “प्रतिबोट रु ५० मूल्य परेको थियो, पचास एकाउन्न सालदेखि स्याउ खेती बिगँ्रदै गयो, सुक्न र राम्रो फल नलागेपछि बगैंचा मास्यौं,” पौडेलले भने।
“शुरुका वर्षहरुमा स्याउ राम्रै फलेको थियो, एउटै बोटले ६०० जति दाना दियो,” अर्का कृषक दीपक पौडेलले भने– “शुरुतिर रसिलो थियो। पछि दाना स–साना भए। स्वाद पनि हराउँदै गयो।”
यहाँको ३०० रोपनीमा दुई हजार ५०० स्याउका बोट रोपिएको थियो। कतिपय कृषकले बोट खरिद गर्दा लागेको ऋण तरकारीको आम्दानीले तिरे। स्याउ खेती गर्दा लिएको रु १० हजार ऋण तिर्न नसक्दा बैंकले स्थानीयवासी पे्रम ढकालको जग्गा नै लिलाम गरेको थियो। उनले सबैभन्दा बढी ५०० बोट रोपेका थिए।
स्याउका लागि हावापानी अनुकूल नहुँदा पे्रमजस्ता थुपै्र विपन्न कृषकले ऋण तिर्न सकेनन्। “बगैंचा बनाउँदा यसरी डुबिएला भन्ने पत्तै पाइएन, बैंकले जग्गा जफत गरिदियो,” ढकालले गुनासो गरे– “शुरुका केही वर्ष राम्रै फल्यो । त्यतिबेला सुर्खेत–दैलेख सडक थिएन। पैदल हिँडेर स्याउ बेच्न सुर्खेत झर्नुपदथ्र्यो । जब सडक आयो, तब स्याउ फल्न छाड्यो। ऋणमा मात्रै डुबायो।”
एकाउन्न सालमा सुर्खेत–दैलेख सडकको ट्र्याक खुल्यो। त्यसअघि पैदल आउजाउ गर्नुपथ्र्यो। गुराँसेबाट थोक मूल्यमा खरिद गरी डुंगेश्वर, घोडाबास, चुप्रा, धरमपोखरा, गोठीकाँडावासीले बिक्रीका लागि लैजान्थे। रुख सुक्दै जानु, दाना पनि राम्रो नलाग्नु, स्वादिष्ट नहुनु, बेमौसममा फुल्न र फल्न थालेपछि किसानले स्याउ मासेका हुन्। लेकाली हावापानी भए पनि पछिल्ला वर्ष गुराँसेमा गर्मी बढ्दै गएको छ जसको प्रत्यक्ष असर मध्यपहाडी क्षेत्रमा फल्ने स्याउ हराउँदै गएको छ।
समुद्री सतहबाट गुरा“से रानीमत्ता दुई हजार १९८ मिटर उचाइमा अवस्थित छ जुन सुर्खेतसँग सीमा जोडिएको दैलेखको दक्षिणी गुराँस गाउँपालिकामा पर्दछ। कृषि ज्ञान केन्द्र दैलेखका कृषि प्रसार अधिकृत नरेन्द्र थापाले ‘रेड गोल्डेन’ जातको स्याउलाई बढी चिस्यान आवश्यक पर्ने बताए। “रेड गोल्डेन जातलाई हिउँ बढी पर्ने र बाहै्र महीना लेकाली हावापानी हुने क्षेत्र उपयुक्त मानिन्छ,” उनले भने– “जलवायु परिवर्तनका कारण तापक्रम बढ्दै गयो । त्यसकै परिणाम गुराँसेको हावापानी स्याउका लागि प्रतिकूल बनेको हो।”
कृषकले स्याउको फल नपाए पनि तरकारीबाट राम्रो प्रगति गर्दै आएका छन्। सुर्खेत–दैलेख सडक कालोपत्रे भएपछि यहा“बाट सुर्खेत एक घण्टामै पुगिन्छ। तरकारी खेतीबाटै अधिकाँश कृषकले सुर्खेत उपत्यकामा घर–घडेरी किनेका छन् तर, मौसममा आएको फेरबदलले मुख्य आयस्रोत तरकारी खेतीमा प्रत्यक्ष असर पुग्न थालेकामा कृषक चिन्तित छन्। विभिन्न रोगकीराका कारण तरकारीको उत्पादकत्व पनि घट्दो अवस्थामा छ । गुराँसे रानीमत्ता क्षेत्रमा सबैभन्दा बढी सिँचाइ र खानेपानीको समस्या छ।रासस
Facebook Comment