‘अनइथिकल मिडिया’को बिगबिगी भयो, निर्माताहरु बुझेर आइदिए हुन्थ्यो : स्वस्तिमा खड्का (अन्तर्वाता)
काठमाडौं। अहिले सर्वाधिक चर्चामा रहेकी अभिनेत्री हुन्–स्वस्तिमा खड्का। स्वस्तिमाले यसैवर्ष सार्क फिल्म फेस्टिभलमा जुरी पर्फमेन्स अवार्ड जितिन्। त्यस्तै, नेसनल फिल्म अवार्डमा २०७५ सालको उत्कृष्ट अभिनेत्रीको अवार्ड पनि आफ्नै पोल्टामा पारिन्।
उनै स्वस्तिमा केही दिनअघि चलचित्र ‘हजार जुनीसम्म’को एक कार्यक्रममा पारिश्रमिकबारे दिएको अभिव्यक्तिका कारण विवादित समेत बनिन्। हाल त्यही चलचित्र ‘हजार जुनीसम्म’को प्रचारप्रसारमा छिन्। यही साउन ३० गतेबाट चलचित्र प्रदर्शनमा आउँदैन्।
गत शुक्रबार डिसी नेपालले स्वस्तिमासँग उनले दिएको अभिव्यक्ति, आउँदो चलचित्र, उनको कलाकारिता यात्रा लगायतको विषयमा कुराकानी गरेको छ।
केही दिनअघि तपाइँले पारिश्रमिकबारे दिएको अभिव्यक्ति निकै विवादित बन्यो है?
त्यो विवादित बन्नुपर्ने विषय नै थिएन। मैले कोही कलाकारलाई टार्गेट गरेर पनि भनेको थिइन। तर, युट्युबमा शिर्षक अन्य कलाकारलाई जोडेर बने। केही मिडियामा त्यही अनुसारका समाचार पनि आए। खासमा त्यसबारे पोजेटिभ हिसावले समाचार बन्नुपर्ने हो।
तर, यहाँ पोजेटिभ भन्दा नेगेटिभ कुरा बिक्ने भएर होला, त्यसो भएको। त्यो गलत हो। मेरो भनाइको आशय यदि कोही कलाकारले २० लाख पारिश्रमिक लिन्छ भने ५० लाख बराबरको दर्शक हलसम्म तान्न सक्नुपर्छ भन्ने थियो। मैले २० लाख लिँदा निर्माताको हातमा ५ लाख रुपैयाँ पनि परेन भने त नराम्रो हुन्छ नी। तर यहाँ बोलेको एउटा, आउँदा अर्कै हुन्छ। मेरो पनि त्यही भएको हो।
तपाइँले दिएको अभिव्यक्तिलाई अभिनेत्री पूजा शर्मासँग जोडेर समाचार आएपछि मिडियासँग आक्रोशित देखिनुभयो। स्टाटस्नै लेख्नुभयो नी !
म मिडियासँग आक्रोशित भन्दापनि ‘अन इथिकल’ मिडियासँग रिसाएकी हुँ। पछिल्लो समय हातमा बुम र क्यामेरा बोकेर ‘अइथिकल’ समाचार लेख्ने धेरै भए। यो कुरा मैले अहिलेमात्र होइन यसअघि ‘बुलबुल’को समयमा पनि भनेकी थिए।
तपाइँले ‘बुलबुल’को प्रमोशनको क्रममा त चलचित्रको सुटिङस्पोटमा स्पोटब्वाइदेखि लाइटम्यानसम्मको युट्युब च्यानल हुन्छ भन्नुभएको थियो, के त्यस्तो अवस्था छ र?
हो नी। अहिले त काम गर्दा धेरै कुराहरु सोच्नुपर्ने अवस्था आएको छ। हामी सुटिङसेटमा काम गर्दा पनि टिमभित्र कतिलाई त कामको मतलब नै हुँदैन। भिडियो खिच्ने, आ–आफ्नो युट्युब च्यानलमा भिडियो हाल्ने मात्र ध्यान हुन्छ। सुटिङमा त अहिले हामी कुरा गरेजसरी बोल्दैनौं। तर, कतिले थाहै नपाइ ति कुराहरु खिचेर युट्युबमा हालिदिनुहुन्छ। ती भिडियो पब्लिकसम्म पुग्दा कलाकारको प्राइवेसी रहँदैन। त्यसरी भिडियोहरु राख्ने मानिस त रेस्पोन्सिवल भएन नी त!
यदि कोही कलाकारले २० लाख पारिश्रमिक लिन्छ भने ५० लाख बराबरको दर्शक हलसम्म तान्न सक्नुपर्छ भन्ने थियो। मैले २० लाख लिँदा निर्माताको हातमा ५ लाख रुपैयाँ पनि परेन भने त नराम्रो हुन्छ नी। तर यहाँ बोलेको एउटा, आउँदा अर्कै हुन्छ। मेरो पनि त्यही भएको हो।
तपाइँलाई थाहा छ, मलाइ थाहा छ त्यो मिडिया होइन भनेर तर दर्शकहरु त एउटा न्यूज च्यानल भनेर त्यो हेरिरहनभएको हुन्छ नी। हामी कलाकारले सुटिङ सेटमा जे भोग्दै आएका छौं त्यही बोलेकी थिए।
तपाइँको नयाँ चलचित्र ‘हजार जुनीसम्म’प्रदर्शनमा आउँदैछ। के कारण यो चलचित्रमा अभिनय गर्नुभयो?
सर्वप्रथम त विकास दाई (विकासराज आचार्य–निर्देशक), सामिप्य दाई (सामिप्यराज तिमिल्सिना–लेखक) उहाँहरुको टीम राम्रो भएर काम गरेकी हुँ। दोस्रो कुरा, यो चलचित्रमा मेरो क्यारेक्टर उत्तिकै राम्रो छ। क्यारेक्टर अनुसार मैले आफूलाई पनि फरक देखाउने कोशिश गरेकी छु।
चलचित्रमा तपाइँको भूमिका कस्तो छ? स्वस्तिमालाई दर्शकले विगतका चलचित्रमा जस्तै भूमिकामा वा केही फरक पाउँछन्?
यसमा मेरो क्यारेक्टर त्यस्तो एकदमै चेन्ज त छैन। मैले सिक्किमको केटीको क्यारेक्टर निभाएकी छु। जो अलि मोर्डन हुन्छे, डाक्टर पढिरहेकी हुन्छे। म दर्शकहरुलाई यति भन्न सक्छु की चलचित्र एकदमै राम्रो बनेको छ। चलचित्रको टीम पनि एकदमै राम्रो छ। दर्शकलाई चलचित्रले निराश बनाउँदैन।
एकछिन तपाइँको विगततर्फ फर्कौ न! बाल्यकाल कहाँ बिताउनुभयो?
मेरो जन्म धनकुटामा भएको हो। तर, बाल्यकाल काठमाडौंमा नै बित्यो। मेरो ड्याडी–ममी को घर रामेछाप हो। तर मेरो ड्याडी आर्मी भएकाले हामी कहिले कता, कहिले कता सिफ्ट भइरह्यौं। मैले मेरो स्कूल लेभलको अध्ययन आर्मी स्कूलमा गरें। स्कूलिङ सकिएपछि इन्जिनियरिङ पढें।
चलचित्र क्षेत्रप्रतिको रुचि सानैदेखिको हो?
मलाइ चलचित्र क्षेत्रप्रति रुचि थियो। अभिनय गर्न मन लाग्थ्यो। क्यारिकेचर पनि गर्थेँ। तर म हिरोइन बन्छु भनेर कहिले सांच आएन। किनभने यो अर्कै ‘वल्र्ड’ जस्तो लाग्थ्यो। साधारण परिवारमा हुर्केकी, चलचित्र, मिडिया क्षेत्रमा आफ्नो चिनेको मान्छे कोही थिएन। त्यसैले पनि चलचित्र क्षेत्र कल्पना बाहिरको कुरा थियो।
तपाइँले पहिलो चलचित्र ‘होस्टेल रिटन्र्स’ गर्नुभयो। चलचित्र सफल पनि भयो तर, तपाइँलाई चलचित्र भन्दा पनि एउटा गीतले बढी चर्चित बनायो भन्दा गलत हुन्छ की सही हुन्छ?
केही म्युजिक भिडियोमा काम गरेपछि ‘होस्टेल रिटन्र्स’मा काम गर्ने अवसर पाएँ। चलचित्र दर्शकले रुचाउँनुभयो। तर, तपाइँले जे भन्नुभयो त्यो म मान्छु, मलाइँ चलचित्रले भन्दा ‘कुटुमा कुटु’बोलको गीतले बढी चिनायो।
पहिलो चलचित्रपछि अन्य केही चलचित्र गरे। ती चलचित्रबाट सीमित दर्शकले चिन्नुभएको थियो। तर, गीत आइसकेपछि ठूलो मासमा चिनिएँ। साँच्चिकै भन्नुभर्दा ‘कुटुमा कुटु’ रिलिज भएपछि मेरो करिअरमा धेरै परिवर्तन आयो।
तपाइँ त छोटो समयमा आफूलाई स्थापित बनाउनुभयो। एकपछि अर्को चलचित्रमा काम गरिरहनुभएको छ। चलचित्र छनोट के हेरेर गर्नुहुन्छ?
मेरो चलचित्र छनोटमा प्राथमिकतामा पर्ने भनेको टीम हो। टीम राम्रो भएपछि स्क्रिप्ट हेर्छु।
चलचित्र छनोटमा श्रीमान (निश्चल बस्नेत)को भूमिका चाँही कत्तिको रहन्छ नी?
म अधिकांश चलचित्र आफ्नै बुद्धि–विवेकले छनोट गर्न खोज्छु। उहाँसँग कुरै नहुने त होइन केही सुझाव लिन्छु। तर, उहाँसँग छनोट भन्दा पनि ओभरअल चलचित्र क्षेत्रका सुझावहरु लिइरहेकी हुन्छु। आज मैले आफ्नै विवेकले चलचित्र छनोट गर्दा भोलिका दिनमा मलाइ अनुभव हुन्छ।
निर्माताहरु नबुझी चलचित्र निर्माण गर्नुहुन्छ। कतिले बीचमै छोडिदिनुहुन्छ। यो कुराले निर्माताहरु अलि गम्भिर भएर चलचित्र निर्माणमा आइदिए हुन्थ्यो जस्तो लाग्छ।
विगतमा मैले खेलेका नराम्रो चलचित्रले पनि मलाइ धेरै कुराहरु सिकाएको छ। मेरो बुझाइ के भने, अरुको अण्डरमा रहेर यो गर, यो नगर भनेर त्यो अनुसार चलचित्र गर्दा आफूले केही कुरा सिक्न सकिँदैन्। त्यसैले पनि चलचित्र छनोट म आफ्नै विकेकले गर्दै आएकी छु।
भर्खरै मात्र श्रीमानसँग ‘घामड शेरे’मा अभिनय गर्नुभएको छ, अरुसँग स्क्रिन शेयर गर्न र आफ्नै श्रीमानसँग स्क्रिन शेयर गर्नमा के फरक हुँदोरहेछ?
श्रीमान भइसकेपछि अलिकति फरक त पक्कै हुन्छ नै। तर, एक्सन भनिसकेपछि खासै फरक पर्दैन। क्यामेरा अगाडि उहाँ मेरो श्रीमानभन्दा पनि कुनै एक क्यारेक्टरका रुपमा लिन्छु।
धेरै चलचित्रमा काम गर्नुभयो। अब कस्तो खालका चलचित्र गर्न मन लागेको छ?
मलाइ यस्तै गर्न मन छ भन्ने छैन। तर फरक–फरक खालका चलचित्रमा काम गर्न मन लाग्छ। मैले चलचित्र ‘हजार जुनीसम्म’जस्तो मात्रै गरेर पनि हुँदैन। ‘बुलबुल’ जस्तो मात्रै गरेर पनि हुँदैन अनि ‘छक्का पञ्जा २’ जस्तो गरेर मात्रै पनि हुँदैन। मेरो लागि सबै चलचित्र एउटै हुन्। म सबैबाट केही न केही सिकेर अघि बढ्छु। यद्यपी फरक–फरक भूमिका गर्न पाइयोस भन्ने सधै मनमा रहन्छ।
चलचित्र क्षेत्रमा झण्डै ४ वर्ष बिताउनु भएको छ। यो क्षेत्रको के कुराले तपाइँको चित्त दुख्छ ? वा के कुरा सुधार भए अझ राम्रो हुन्थ्यो भन्ने लाग्छ?
त्यस्तो नराम्रो, चित्त दुख्ने कुरा त केही छैन। निर्माताहरु नबुझी चलचित्र निर्माण गर्नुहुन्छ। कतिले बीचमै छोडिदिनुहुन्छ। यो कुराले निर्माताहरु अलि गम्भिर भएर चलचित्र निर्माणमा आइदिए हुन्थ्यो जस्तो लाग्छ। त्यो बाहेक अहिले मिडियाकै कुरा गर्दा ‘अनइथिकल मिडिया’हरु कत्ति धेरै छन्। यहाँ एउटा बोलिन्छ अर्कै ढंगले प्रस्तुत गरिन्छ। जे बोलेनी कन्ट्रोभर्सीमा परिने डर हुन थाल्यो। यो कुराले पनि नराम्रो लाग्छ मलाइ। यस्तै १/२ वटा कुरा सुध्रिए अझ राम्रो हुन्थ्यो जस्तो लाग्छ।
Nice