लेखा समितिले ठहर गरेको बेरुजु ६ महिना भित्र असुल गर्ने कानुनी व्यवस्था गर्न सरकारसँग माग
काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले संघीय संसदको सार्वजनिक लेखा समितिले ठहर गरेको बेरुजु ३ महिनादेखि ६ महिना भित्र असुल उपर गर्ने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
पूर्व अर्थमन्त्री समेत रहेका काँग्रेस नेता कार्कीले सार्वजनिक लेखा समितिले दिएको निर्देशन अनुसार बेरुजु फछर्यौंट नगर्नेमाथि कडा कानुनी कार्वाहीको व्यवस्था गर्न सरकारलाई सचेत गराए।
आइतबार संघीय संसदको अर्थ समितिमा पेश गरिएको ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको दफावार छलफलमा भाग लिँदै उनले सरकारलाई संसदप्रति उत्तरदायी बनाउन विधेयकमा सो कानुनी व्यवस्था गर्नुको विकल्प नरहेको जिकिर गरे।
नेता कार्कीले सबै बेरुजु महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा अनिवार्य रुपमा पेश गर्नुपर्ने प्रस्ताव अघि सारे। उनले आन्तरिक लेखा परीक्षण समूह र लेखा संचालन तथा व्यवस्थापन समूह भनि खटाइएका कर्मचारीलाई एक समूहबाट अर्को समूहमा परिवर्तन नगर्ने कानुनी व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए।
काँग्रेस नेता कार्कीले अन्तिम लेखा परीक्षकले अनुचित कार्य गरेको प्रमाणित भएमा कडा कार्वाही हुने गरी कानुनी व्यवस्था गर्नुपर्ने बताए। उनले बेरुजु फछर्यौट समितिको सदस्य सचिव सार्वजनिक लेखा समितिको सचिवलाई राख्ने व्यवस्था गर्न सरकारलाई सुझाव दिए।
सरकारले प्रस्ताव गरेको विधेयकमा ‘कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यायलको प्रमुख’ सो समितिको सदस्य सचिव रहने प्रावधान राखिएको छ।
Facebook Comment