कश्मीरमा तनावका बिच पाकिस्तानमा राष्ट्रिय सुरक्षा समितिको बैठक

डिसी नेपाल
१९ साउन २०७६ २३:२९

इस्लामावाद (एजेन्सी)। भारत प्रशासित जम्मू कश्मीरमा भारतले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेपछि पछिल्ला दिनहरुमा तनाव बढेसँगै आइतबार पाकिस्तानी प्रधानमन्त्री इमरान खानले राष्ट्रिय सुरक्षा समितिको बैठक गरेका छन्।

भारतले कश्मीरमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गर्नुका साथै अमरनाथ यात्रा स्थगित गरेको छ भने पर्यटकलाई कश्मीर छोड्न भनिएको छ । लगातार सुरक्षाकर्मीको संख्या बढाउने र अलर्ट जारी गर्नुले कश्मीरमा डरको माहोल बनिरहेका बेला पाकिस्तानमा सुरक्षा समितिको बैठक बस्नुलाई महत्वपूर्ण घटनाक्रम बताइएको छ ।

उता भारत प्रशासित कश्मीर र पाकिस्तान नियन्त्रित कश्मीरलाई अलग गर्ने नियन्ण रेखा (एलओसी) पार गरेर भारतीय सुरक्षाकर्मीले सैन्य कारबाही गरेपछि पाकिस्तानले त्यसको विरोधमा राष्ट्रसंघमा निवेदन दिएको छ ।

भारतले प्रतिबन्धित कलस्टर बमको प्रयोग गरेको र सर्वसाधारण नागरिकलाई निशाना बनाएको पाकिस्तानको आरोप छ । भारतले प्रतिबन्धित घातक हतियार प्रयोग गरेको भन्दै पाकिस्तान राष्ट्र संघ पुगेको हो।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले ट्वीट गर्दै भारतले सर्वसाधारण नागरिकलाई एलओसी पार गरेर निशाना बनाएको भन्दै आपत्ति जनाएका छन्। उनले भारत प्रशासित कश्मीरको अवस्था पनि नाजुक बनेको भनेका छन्। उनले भारत प्रशासित कश्मीरका जनताले आफ्नो भाग्यको आफै फैसला गर्नुपर्ने दिन आइसकेको भन्दै राष्ट्र संघले यसमा हस्तक्षेप गर्नुपर्ने बताएका छन्।

उनले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मध्यस्थता गर्ने भनेको अब त्यो छिटै हुनुपर्नेसमेत बताएका छन् । इमरान खानले जम्मू कश्मीरमा भारतका कारण उत्पन्न तनावले क्षेत्रीय संकट बढाउनेसमेत चेतावनी दिएका छन्।

यता भारतले भने पाकिस्तानी सीमा सुरक्षा बलका ५ जना जवानलाई मारेको भन्दै ती शव लैजान पाकिस्तानलाई आग्रह गरेको छ । तर, पाकिस्तानी सेनाले भने आफ्ना कुनै सैनिक नमारिएको भन्दै भारत प्रोपोगाण्डा मच्चाएको प्रतिक्रिया दिएको छ ।




प्रतिक्रिया

One thought on “कश्मीरमा तनावका बिच पाकिस्तानमा राष्ट्रिय सुरक्षा समितिको बैठक

Leave a Reply

Your email address will not be published. Required fields are marked *