स्मिथको कीर्तिमानी ब्याटिङ
काठमाडौँ । जारी एशेज सिरिजमा अस्ट्रेलियाका ब्याट्सम्यान स्टिभ स्मिथले उत्कृष्ट ब्याटिंग गर्दै अस्ट्रेलियालाई राम्रो अवस्थामा पुर्याएका छन् ।
स्मिथको इनिंगको शतकपछि अब अस्ट्रेलिया कम्तिमा यो खेलमा हार नबेहोर्ने अवस्थामा पुगेको छ । अब खेलको अन्तिम दिनको खेल बाँकी छ भने इङल्याण्डलाई जितका लागि अझै ३८५ रन आवश्यक रहेको छ । अब टेस्टको अन्तिम दिन इङल्याण्ड टेस्ट बचाउन संघर्ष गर्ने देखिएको छ ।
अस्ट्रेलियाले दोस्रो इनिंगमा ७ विकेट गुमाएर ४८७ रन बनाउदा पारी घोषणा गरेको थियो । अस्ट्रेलियाको दोस्रो इनिंगमा स्मिथले १४२ रन बनाए भने उनले पहिलो इनिंगमा १४४ रन बनाएका थिए । त्यस्तै दोस्रो इनिंगमा अस्ट्रेलियाका म्याथ्यु वाडेले पनि ११० रनको शतकीय पारी खेलेका थिए । चौथो दिनको खेल सकिदा इङल्याण्ड १३ रन बनाएर खेलिरहेको छ ।
१६ महिना पछि टेस्ट क्रिकेटमा फर्किएका स्मिथले पहिलो टेस्टमा नै दुई शतक लगाएर कैयौ रेकर्ड बनाएका छन् । आफ्नो क्यारियरको २५औ शतक बनाएका स्मिथ २५ शतक बनाउने विश्वका २२औ खेलाडी बनेका छन् । स्मिथले ११९ पारीमा २५ शतक बनाए । स्मिथभन्दा कम पारीमा २५ शतक बनाउने रेकर्ड सर डन ब्रेडम्यानको नाममा रहेको छ । उनले ६८ पारीमा नै २५ शतक बनाएका थिए ।
त्यस्तै स्मिथले एशेज सिरिजमा आफ्नो १०औ शतक बनाउदै अस्ट्रेलियाका स्टिभ वागको बराबरी गरेका छन् । एशेजमा ब्रेडम्यानको १९ शतक छ भने जेक होब्सको १२ शतक रहेको छ । साथै स्मिथले एशेजका ४३ पारीमा १० शतक बनाएका छन् भने उनी भन्दा छिटो ब्रेडम्यानले ३७ एशेज पारीमा १० शतक पुरा गरेका थिए ।
एकै टेस्टमा १४० भन्दा बढी रन बनाउने स्मिथ विश्वका चौथो ब्याट्सम्यान बनेका छन् । यस अघि एलन बोर्डर (१५०+१५३), एन्डी फ्लावर (१४२+१९९) र तिलकरत्ने दिलसानले (१६२+१४३) एकै टेस्टमा दुई शतक बनाउदै १४० भन्दा बढी रन बनाएका थिए ।
साथै इङल्याण्डमा भएको एशेजमा दोहोरो शतक बनाउने स्मिथ तेस्रो अस्ट्रेलियाली खेलाडी बनेका छन् । स्मिथभन्दा अगाडी म्याथ्यु हेडेन र स्टिभ वागले इङल्याण्डमा एकै टेस्टमा दुई शतक बनाएका थिए ।
साथै स्मिथ एकै टेस्टमा दुई शतक बनाउने पाँचौ अस्ट्रेलियाली खेलाडी बनेका छन् । यसअघि वारेन बोर्डसले, अर्थर मोरिस, स्टिभ वाग र म्याथ्युज हेडेनले एकै टेस्टमा दुई शतक बनाएका छन् ।
Facebook Comment