वडाध्यक्षको घरमा अज्ञात समूहद्वारा आगजनी, तीन घर जलेर नष्ट

डिसी नेपाल
२० साउन २०७६ १३:२२

मुगु। खत्याड गाँउपालिका–३ जाम गाँउको बजार क्षेत्रमा आइतबार राति अज्ञात समूहले आगो लागाउँदा तीन घर जलेर ध्वस्त भएका छन्।
राति १२ बजे खत्याड गाँउपालिका–२ जाम गाँउको बजार क्षेत्रमा रहेका सोही वडाका वडाध्यक्ष लालबहादुर मल्लको घरमा अज्ञात समूहले आगो लागाउँदा मल्लको घरसँगै जोडिएका अन्य दुई घरसमेत गरी तीन वटा घर जलेर ध्वस्त भएका हुन्।

वडाध्यक्ष मल्लको तीन तल्लाको पक्की घरमा आइतबार राति १२ बजे घरमा मुल ढोका बन्द गरेर झयाल र ढोकामा पेट्रोल र मट्टितेल छर्केर अज्ञात समूहले आगो लगाएको वडा अध्यक्ष मल्लले जानकारी दिए। घरमा आगो लगाउँदा वडाध्यक्षका साला घरमा सुतिरहेका थिए।

वडाध्यक्ष मल्लका अनुसार अफनो घरबाट सल्लकेको आगोले सँगै जोडिएका सोही गाँउपालिका–१ का पदमबहादुर बुढा र टक्कबहादुर मल्लका काठले निमार्ण गरेका दुई तल्लाका घर ध्वस्त भएका छन्।

मल्लले आफनो दुई तल्लाको घरमा होटल संचालन गरेका थिए भने तेस्रो तल्लामा सोही वडाको वडा कार्यालय रहेको थियो। पदमबहादुर बुढाले आफनो स्टेसनरी पसल संचालन गरेका थिए भने अर्का टक्क बहादुर मल्लले मोबाइल पसल राखेका थिए।

अज्ञात समूहले लगाएको आगोबाट होटलको र घरको गरी २ करोड ५० लाख बराबरको क्षति भएको र वडा कार्यालयको ल्यापटप लगायत अन्य सामग्री गरी १० लाख बराबरको क्षति भएको वडाध्यक्ष मल्लले जनाए।

घरमा सुतिरहेका मल्लका साला सेरबहादुर पुन आगो लाग्दै गर्दा तेस्रो तल्लाबाट हाम फाल्दा घाइते भएका छन्। मल्लको घर सँगै जोडिएको टक्कबहादुर मल्लको २५ लाख र अर्का पदमबहादुर बुढाको ७ लाख बरारको क्षति भएको मल्लले जानकारी दिए।

राति १२ बजे आगोलागी भएको जानकारी श्रीकोट प्रहरी चौकीले जिल्ला प्रहरी कार्यालयलाई जानकारी दिएको हो। आगो राति ३ बजे नियन्त्रणमा आएको थियो भने श्रीकोट प्रहरी चौकीबाट पाँच जना प्रहरी उद्धारमा खटिएका भएपनि सोमबार बिहान ५ बजे जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबहादुर ऐरको कमाण्डमा १० जना र शस्त्र प्रहरी ४५ बाहिनीको गुल्मबाट शस्त्र प्रहरी निरीक्षक जयबहादुर महतको कमाण्डमा १३ जना सुरक्षाककर्मी घटना स्थलतर्फ गएको छन्।

उक्त स्थान सदरमुकाम गमढीबाट ६ घण्टा टाढा पर्ने भएकाले घटनामा कसको संलग्ना छ भन्ने टुंगो नलागेको जिल्ला प्रहरी कार्यालय मुगुका डिएसपी राजेन्द्रबाबु रेग्मीले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *