लगातार सुनको मूल्य आकाशिँदै जानुको कारण के हो ?

डिसी नेपाल
२० साउन २०७६ १४:३०

काठमाडौं। सुनको मूल्य आकाशिँदै छ । मूल्यले हरेक दिन रेकर्ड तोड्दैछ । आज बनेको रेकर्ड भोलि तोडिने क्रम जारी छ र यो विगत केही दिनदेखि चलिरहेको छ । आज एकै दिन सुनको मूल्य तोलामा १५ सय रुपैयाँ बढ्यो । हिजो ६६ हजार ३ सयमा कारोबार भएको सुनको मूल्य आज ६७ हजार ८ सय पुग्यो । यो हालसम्मकै उच्च मूल्य हो ।

खासमा सुनको मूल्य किन यसरी बढिरहेको छ त ? यो सबै अमेरिकाको फेडरल रिजर्भ बैंकले ब्याजदर घटाएका कारण भएको हो । फेडरल रिजर्भ बैंक अमेरिकाको केन्द्रीय बैंक हो । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार बैंकलेले ०.२५ प्रतिशतले ब्याजदर घटाएको छ, त्यसले गर्दा लगानीकर्ता सुनमा आकर्षित भएका हुन् ।

विश्वभरि मानिसहरुले सुन तथा अमेरिकी डरललाई सम्पत्ती मान्ने हुनाले आफ्नो सम्पत्ती सुन वा डलरमा संचय गर्न खोज्छन् भन्ने मान्यता छ । त्यसैले सुन र अमेरिकी डलरको बिचमा विपरित सम्बन्ध कायम हुने गरेको छ । डलरको संचय बढाउन खोज्दा माग बढ्छ र डलरको मूल्य बढ्छ, यसले गर्दा मानिसहरु सुनको माग घटाउँछन् । माग घटेपछि स्वभावैले मूल्य पनि झर्छ । यसको ठिक विपरित, मानिसहरुले सुनको माग बढाएमा मूल्य बढ्छ र डलरको माग घटेकैले मूल्य पनि घट्छ ।

अहिले फेडरल रिजर्भ बैंकको ब्याजदरले गर्दा मानिसहरु डलरको माग कम गरे र सुनको माग बढाएकोले सुनको मूल्य बढेको नेपाली सुन व्यवसायीहरुको छाता संगठनले जानकारी दिएको छ। पछिल्लो समय बढ्दो अमेरिका चीनको व्यपार युद्धको असर पनि सुनको मूल्यमा देखिएको संघले जनाएको छ । गत हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ३ सय विलियन डलरका चिनियाँ सामानको आयातमा १० प्रतिशत अतिरिक्त भन्सार दर बढाएका थिए । व्यापार युद्धका कारण पनि लगानीकर्ता डलर बेचेर सुनको संचय गर्न आकर्षित भए । यसले सुनको माग बढ्यो र सुनको मूल्य पनि बढ्यो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *