मनकारी वडाध्यक्ष, जसले आफ्नो तलब दलित परिवारलाई बाँड्ने

डिसी नेपाल
२० साउन २०७६ १६:२७

रारा। स्थानीय तहमा अनियमितता र भ्रष्टाचार बढिरहेको खबर आइरहेका बेला मुगुको छायानाथ रारा नगरपालिकाका एक वडाध्यक्षले आफूले पाउने मासिक तलब सामाजिक काममा खर्च गर्ने घोषणा गरेका छन्।

छायानाथ रारा नगरपालिका–४ का २९ वर्षीय वडाध्यक्ष विष्णुबहादुर भामले आफूले पाउने मासिक तलब नगरक्षेत्रका १४ वडाभित्र बसोवास गर्ने दलित परिवारका सदस्यहरुको शिक्षा, स्वास्थ्य र जीविकोपार्जनमा खर्च गर्ने घोषणा गरेका हुन्।

आफ्नो पाँच वर्षेकार्यकालमा आफूले पाउने मासिक २० हजारका दरले हुनआउने कूल १२ लाख नगरपालिकाका १४ वडाभित्र रहेका ३६ दलित बस्तीका बालबालिका, महिला, अपाङ्ग, एकल, गरीब व्यक्तिको शिक्षा, स्वास्थ्य र जीविकोपार्जनमा खर्च गर्ने वडा अध्यक्ष भामले बताए।

उनले आज वडा नं ५ ढुम गाउँस्थित लुवारवाडाका १२५ घरधुरी दलित परिवारलाई प्रतिघर चार पाकेट खाने तेल दिएर सो सहयोग कार्यक्रमको शुरुवात गरे।

वडा अध्यक्ष भामले आफ्नो बैंक खातामा जम्मा भएको २१ महिनाको तलब रु चार लाख २० हजार बाट पहिलो चरणमा वडा नं १, २, ३, ४ र ५ मा रहेका दलित समुदायका बालबालिका र अविभावकलाई लक्षित गरी शैक्षिक सामग्री, सरसफाइ र व्यक्तिगत आवश्यक सामान वितरण गरिने जानकारी दिए।

नेपाली काँग्रेसबाट वडाअध्यक्षमा निर्वाचित भएका भाम २० वर्षकै उमेरमा गाउँको वन रक्षाको हेरालो लागेर जनमुखी काम गर्दै आएका थिए। भने साविकका वडा गाविसले सञ्चालन गरेको कर्णाली रोजगार कार्यक्रममा रु सात लाख अनियमिता भएपछि उनले एक्लै तत्कालीन गाविसमा ताला लगाएर उपभोक्ता समितिबाट रु सात लाख फिर्ता गर्न लगाई जनतालाई सो रकम वितरण गरेका थिए।

वडाध्यक्षमा निर्वाचित भएपछि गाउँघरमा हुने सबै खाले सामाजिक काममा उनी आफै सरिक हुने गरेका छन्। पारिश्रमिक दलित समुदायमा खर्च गर्न शुरु गरेका भामले आफ्नो व्यक्तिगत खर्चबाट चैन खोला, बालैबजार, लामाचौर, मिलिचोर ९रारा ताल क्षेत्र० र मुख्य सडकमा सार्वजनिक शौचालय बनाउने घोषणा समेत गरेका छन्।

स्थानीयवासी भदुरी कामीले वडाध्यक्ष भामबाट वितरण गरिएको खाने तेल बुझ्दै चुनावका बेला भोट माग्नआउने नेतालगायत आफूले पाएको तलब नलिएर त्यो रकम हामी जस्ता गरीबका लागि खर्च गर्ने यी युवा नेताको जय होस् भन्दै आर्शीवाद दिइन्।

‘कति हो कति प्रधानपञ्च, गाविस अध्यक्ष, वडाध्यक्ष र वडा सदस्यहरु चुनियो,’ उनले भने, ‘भाम जस्तो मनकारी अध्यक्ष भने पहिलो पटक पाएका छौं ।’ आफ्नो पारिश्रमिक गरीब र दलितलाई बाँड्ने अध्यक्ष ज्यादै मनकारी भएकोे कामीले बताए।

सहयोग वितरण कार्यक्रममा सहभागी नेकपा गाउँस्तरका अगुवा कार्यकर्ता दन्तलाल कामीले वडा अध्यक्ष भामले गरेको कार्यबाट समाजमा रहेका धनीमनी, पढेलेखेका र अगुवा नेताले पाठ सिक्नुपर्ने र यो उमेरमा समाजसेवामा लागेका भामबाट युवा पुस्ताले पनि शिक्षा लिनुपर्ने बताए।

सो अवसरमा अध्यक्ष भामले आफ्नो सानो सहयोग मात्र भएको र यो कार्यबाट अन्यव्यक्तिले पनि सिको गदै हाम्रो गाउँघरमा आइपरेका सानातिना समस्या आफै समाधान गर्न तर्फ लाग्नुपर्ने, सानोतिनो कामका लागि पनि सरकारको मुख ताक्ने बानी छोड्नुपर्ने र आफ्नो गाउँठाउँ आफै बनाउनेतर्फ लाग्न सबैमा आग्रह गरे।

सम्भवत कणाली प्रदेशमै आफ्नो पारिश्रमिक पूरै सामाजिक कार्यका लागिखर्च गर्ने घोषणा गर्ने भाम नै पहिलो जनप्रतिनिधि भएको इन्सेक मुगुकाप्रतिनिधि जीवन सेजुवालले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *