कुलमान र वर्षमानलाई सांसद महतको सुझाब : ‘तपाँईको बिजुली भारतलाई होइन जुम्लालाई बेच्नुहोस्’

काठमाडौं । नेकपाका सांसद गजेन्द्र बहादुर महतले उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई नेपालले उत्पादन गरेको बिजुली भारतलाई होइन जुम्लालाई बेच्न आग्रह गरेका छन्।
सांसद महतले पटक पटक कुलमान र वर्षमानलाई आग्रह गर्दा पनि आफ्नो मागको सुनुवाइ नगरेको भन्दै उनीलाई श्री ३ महाराजको संज्ञा दिदै आक्रोस व्यक्त गरेका छन्।
प्रतिनिधिसभाको मंगलबारको बैठकको विशेष समयमा बोल्दै सांसद महतले कर्णालीको सदरमुकाम जुम्लामा २०३८ सालमा बनेको २ सय किलोवाटको वत्ती बिग्रिएका कारण जिल्ला अन्धकारमा पर्दापनि सम्बन्धित निकायले चाँसो नदेखाएको भन्दै आक्रोश पोखे।
जिल्लाबासीको समस्याबारे जानकारी गराउन खोज्दा उर्जा मन्त्री र प्राधिकरणका कार्यकारी निर्देशकले भेट नदिएको गुनासो उनले गरे।
उनले भने, ‘यति मिडियामा आईसक्यो । यति सामाजिक सञ्जालमा आइसक्यो । यति धेरै हामीले फोन गरिसक्यौ । यति धेरै भेट्न कोशिश गर्यौ हाम्रा श्री ३ महाराजलाई । हाम्रा श्री ३ महाराज भन्या को हो भने कुलमान घिसिङ । अनि अर्का श्री ३ महाराज हुनुहुन्छ बर्षमान पुन । उर्जामन्त्री। फोन पनि उठ्दैन भेटघाट गर्न पनि पाईदैन।’
उनले जुम्लाबासीको समस्यालाई पनि राष्ट्रिय समस्याको रुपमा बुझिदिन आग्रह गरे। उनले भने, ‘यी श्री ३ महाराजको फोन कसरी उठ्ने हो ? यिनीहरुसंग भेट कसरी गर्ने हो ? यिनीहरुसंग हाम्रो जिल्लको समस्या कसरी राख्ने ? के विद्युत् प्राधिकरण छैन यो नेपालमा ? जुम्ला जिल्ला भन्ने छैन ? जुम्ला जिल्लामा १ लाख मानिसहरु बस्छन्। मोबाईल चलाउन नपाएर कति गाह्रो भईरहेको छ । जात्रा आयो । दशै आयो, तिहार आयो ।’
प्राधिकरण भित्रको कमिसनका बारेमा आफुले सुनेका कुरा नै सही रहेछ भन्ने लागेको भन्दै उनले भारत बेच्ने भनिएको बिजुली जुम्लालाई बेच्न आग्रह गरे। उनले भने, ‘हामीले यति प्रगति गर्यौ भनेर यिनीहरु कुर्लेको कुर्लेईछन् । इण्डियालाई बत्ति बेच्दैछु भन्छन् । हामीलाई बेचिदिनोस् । कृपया जुम्लालाई बेचिदिनोस् तपाईहरु।
त्यहाँ पनि जनता छन् । त्यहाँ पनि मोबाईल छ । त्यहाँ पनि पढ्ने विद्यार्थी छन् । त्यहा पनि बिरामी छन् । हाम्रा यी श्री ३ महाराजलाई म फेरी भन्न चाहन्छु । तपाईहरुले जुम्लाको समस्या हेरिदिनुपर्यो । मैले सुन्ने गरेको थिएँ । यिनीहरुको सेवा जहाँ कमिसन आउँछ । त्यहाँ मात्रै विस्तार गर्छन् भन्ने सुनेको थिएँ। आज मलाई विश्वास लागेको छ । यिनीहरु जहाँ पैसा आउँछ । त्यही मात्रै यिनीहरुले सेवा विस्तार गर्दा रहेछन्।’
Facebook Comment