नारायणहिटी दरबारको महत्वपूर्ण दस्तावेजहरुको खोजी कार्य सुरु

डिसी नेपाल
२१ साउन २०७६ १८:०७

काठमाडौं । संसदीय समितिले तत्कालीन नारायणहिटी राजदरबारको महत्वपूर्ण दस्तावेजहरुको खोजी कार्य सुरु गरेको छ।

राष्ट्रिय महत्वको दस्तावेजको अभिलेख राख्ने दायित्व पाएको संघीय संसदको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले तत्कालीन राजाहरुले नारायणहिटी दरबारमा राखेका महत्वपूर्ण दस्तावेजहरुको खोजी कार्यलाई अघि बढाएको हो।

यसै अभियान अन्तरगत समितिले सरकारलाई सो दस्तावेज कहाँ छ ? त्यसको विवरण उपलब्ध गराउन पत्राचार गरेपछि सरकारले त्यस पत्रको जवाफ समेत दिन सकेको छैन। मंगलबार समितिको बैठकमा उपस्थिति हुनु भएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि ती सबै दस्तावेज सरकार कहाँ आए÷नआएको एकीन नभएको जवाफ दिए।

उनले सो दस्तावेज पूर्व राजा ज्ञानेन्द्र शाहसँगै गयो की भनि आशंका पनि गरे। ‘त्यतिबेला सबै राष्ट्रिय महत्वका दस्तावेज दरबारमा केन्द्रीत थिए,’ मन्त्री ज्ञवालीको भनाई थियो, ‘ती सबै यता आएकी आएनन् एकीनका साथ भन्न सकिने अवस्था छैन, जे–जे दस्तावेज थिए भन्ने हामीलाई सूचना छ।

तिनीहरुको खोजी गर्ने क्रममा के–के छुटे बुझ्न सकिन्छ। सबै हस्तान्तरण नभएको बुझेका छौं, पूर्व ज्ञानेन्द्र राजा शाहसँगै गयो कि ?’ मन्त्री ज्ञवालीले समितिको बैठकमा आफैमाथि प्रश्न पनि गर्नु भयो, ‘नारायणहिटी दरबारमा महत्वपूर्ण दस्तावेज त्यहीँ बाँकि छ वा कुनै ढंगले नष्ट भयो ? त्यसको बारेमा एकीन ढंगले भन्न सकिने अवस्था छैन।’

बैठकमा समितिका सभापति रामनारायण बिडारीले सुगौली सन्धियताका नेपालको नक्सा, राष्ट्रिय महत्वको अभिलेख र नेपालले गरेका अन्तराष्ट्रिय सन्धि सम्झौताको विवरण उपलब्ध गराउन सरकारलाई पत्राचार गरिएपनि जवाफ नआएको बताए।

समितिका सदस्य राधेश्याम अधिकारीले नारायणहिटी राजदरबारका महत्वपूर्ण दस्तावेज कहाँ छन् भनि मन्त्री ज्ञवालीलाई प्रश्न गरेका थिए।

मन्त्री ज्ञवालीले तत्कालीन नारायणहिटी दरबारको कतिपय दस्तावेज भने राष्ट्रिय अभिलेखालयमा आएको र त्यसलाई व्यवस्थित बनाएपछि समितिले पेश गर्ने प्रतिवद्धता पनि व्यक्त गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *