ग्लोबल टि२० को प्लेअफ समीकरणः सोमपाल प्लेअफ पुगे, सन्दिपलाई आज अन्तिम मौका
काठमाडौं। क्यानडामा जारी ग्लोबल टि–२० लिगमा अन्तिम खेल बाँकी रहँदा दुई नेपाली खेलाडीमध्ये एक खेलाडीको टिम प्लेअफ पुगेको छ । अर्का खेलाडीलाई आज प्लेअफ पुग्ने अन्तिम मौका छ । आजको खेल समूह चरणको अन्तिम खेल हो ।
आज सन्दिप लामिछाने आबद्ध टोरन्टो नेशनल्स र मोन्ट्रियल टाइगर्सबीच हुँदैछ । यो खेल टोरन्टोले जित्न सकेमा दुवै नेपाली खेलाडी आबद्ध टिम प्लेअफ पुग्नेछन् । आज टोरन्टोले हारेमा सन्दिपको टिम बाहिरिनेछ ।
आज हुने खेल समूह चरणको अन्तिम खेल हो । अन्तिम खेल बाँकी रहँदासम्म ६ खेलमा ९ अंकसहित ब्राम्पटन वुल्भस अंक तालिकाको शीर्ष स्थानमा छ । भान्कुभर नाइट्स ८ अंकसहित दोस्रो स्थानमा छ । तेस्रो स्थानको विनिपेग हक्सको ५ अंक छ । यी तीन टिम प्लेअफ पुग्ने निश्चित भइसकेको छ ।
चौथो स्थानको मोन्ट्रेयल टाइगर्सको पनि ५ अंक नै छ । नेट रनरेटको आधारमा विनिपेग हक्स अगाडि छ । विनिपेग हक्स सोमपाल कामी आबद्ध टिम हो । पाँचौं स्थानमा सन्दिप लामिछाने आबद्ध टिम टोरन्टो नेशनल्स छ । टोरन्टोको ४ अंक छ । ३ अंकसहित अन्तिम स्थानको एडमन्टन रोयल्स बाहिरिइसकेको छ ।
आज यदि सन्दिप आबद्ध टोरन्टोले जितेमा टोरन्टोको ६ अंक हुनेछ र ऊ तालिकाको तेस्रो स्थानमा पुग्नेछ । तेस्रो स्थानमा रहेको विनिपेग एक स्थान तल झरेर चौथो स्थानमा खस्किए पनि प्लेअफ जान पाउनेछ । अहिले चौथो स्थानमा रहेको मोन्ट्रेयल टाइगर्स पाँचौं स्थानमा खस्किँदै बाहिरिनेछ । तर, यदि आज मोन्ट्रेयल टाइगर्सले जितेको अवस्थामा भने सन्दिपको यात्रा समाप्त हुनेछ । मोन्ट्रेयल ७ अंकसहित तालिकाको तेस्रो स्थानमा पुग्नेछ र टोरन्टो पाँचौं स्थानमै रहँदै बाहिरिनेछ ।
Facebook Comment