सिडिओ चढेको गाडीलाई अटोले ठक्कर दिएपछि…

डिसी नेपाल
२२ साउन २०७६ २१:२२

सिन्धुली । सिन्धुलीमा प्रमुख जिल्ला अधिकारी सवार गाडीलाई एक अटोले ठक्कर दिएपछि अहिले धमाधम अटो नियन्त्रणमा लिइएको छ।

बुधबार मात्र नौ वटा अटो नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। जिल्ला प्रशासन कार्यालयतर्फ जाँदै गर्दा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम सवार गाडीलाई एक अटोले पछाडिबाट ठक्कर दिएको थियो।

जिल्लामा सञ्चालनमा रहेको केही अटोबिना कागजात सञ्चालन हुँदै आएका थिए। सवारी चालक अनुमतिपत्र, सवारी दर्ता अनुमतिपत्र र रुट पर्मिटबिना सञ्चालनमा रहेका अटोलाई नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका ट्राफिक प्रहरी सहायक निरीक्षक रामेश्वर पाण्डेले जानकारी दिए।

नियन्त्रणमा लिएका अटोलाई सबै कागजात ल्यापछि मात्र जरिवाना तिराएर छाडिने उनको भनाइ रहेको छ। जिल्लामा नियम विपरीत चलेका सबै अटोलाई नियन्त्रणमा लिई दुर्घटना न्यूनीकरण गरिने उनको भनाइ रहेको छ।

जिल्लामा अटो दुर्घटना बढेपछि ट्राफिक प्रहरीले थप कडाइका साथ जाँचलाई अघि बढाएको छ। अटोमा ८ देखि १० जनासम्म सवार हुँदा दुर्घटनाको जोखिम बढेको भन्दै अहिले चालकसहित चारजना भन्दा बढी यात्रु ओसार्ने अटोलाईसमेत कारवाही गरिने उनको भनाइ छ।

क्षमता भन्दा बढी यात्रु बोक्ने ६ वटा अटो आज कारवाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

कमलामाई नगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले तीन पाङ्ग्रे अटो सञ्चालकलाई नियम अनुसार मात्र सञ्चालन गर्न पटक–पटक समय सीमा दिइएको भए पनि बेवास्था गरेकाले कारवाहीलाई थप कडाइ गरिएको ट्राफिक प्रहरीकार्यालय सिन्धुलीले जनाएको छ।

यसैबीच आज जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले आज नियम विपरीत चलेका २५ भन्दा बढी सवारीलाई कारवाही गरेको छ।

दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्लाका विभिन्न राजमार्ग तथा भित्री सडकमा समेच चेकजाँच बढाएको ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *