तीज गीत : चर्चाको लोभमा मौलाउँदै छाडा संस्कृति !

काठमाडौं। नेपाली हिन्दु महिलाहरुको महान पर्व तीजको रौनक जताततै छाइरहेको छ। तीज आउनुभन्दा लगभग एक महिना अघिदेखि यसको सांगीतिक माहोल तयार भइसकेको हुन्छ। लोकगायकका गीत तयार गर्ने काम त अझै तीज आउनुभन्दा दुई तीन महिनाअगाडि नै सुरु हुन्छन्।
हाम्रो सामाजिक जनजीवनमा तीजले राम्ररी प्रभाव जमाएको देख्न सकिन्छ। पार्टी प्यालेस, घर, टोल र सडक तीजमय भएको देख्न पाइन्छ। दिदीबहिनीहरू महंगा पहिरन र गहनामा सजिएर दर खान हिँड्ने र डिस्कोमा जस्तै जथाभावी उफ्रिने प्रचलन हाबी भएको छ।
हिजोआज तीजमा गाइने मीठा, सामाजिक सन्देश बोकेका र गम्भीर लय तथा भाव भएका गीतहरू सुनिन छोडेका छन्। खासमा नारीले हर्ष र विस्मात गीतको माध्यमबाट अभिव्यक्त गर्ने तीज नेपालीको मौलिक संस्कृति हो। तर, पछिल्लो समय तीज महिलाको मात्र नभएर समावेशी बन्न थालेको छ। पुरुष साथीहरू महिला सँगसँगै कम्मर मर्काएर समावेशी नाचको झझल्को दिइरहेका हुन्छन्।
महिलाको दुःख पीडा र वेदना समेटिएका तीजगीतहरु शायदै सुनिन थालेका छन्। तीज गीतमा विकृति बढ्दै गएका छन्। पछिल्लो समय बजारमा आएका तीज गीत विवादित पनि बन्न थालेका छन्। गीतको शब्द चयनमा अश्लील तथा दुईअर्थी लाग्ने शब्दहरु प्रयोग भएका छन्।
परिवारमा सँगै बसेर तीज गीत सुन्न समस्या भएको छ। हामी यसरी नै अगाडि बढ्ने हो भने एक दिन तीज गीत बज्दा कान थुन्ने अवस्था नआउला भन्न सकिन्न।
केही दिन अघि मात्रै रिलिज गरिएको एउटा तीज गीतको शीर्षक ‘दुधको मुन्टा छुँदा’ राखिएको थियो। हप्ता दिन नपुग्दै गीतको चौतर्फी विरोध भएपछि अहिले गीतको शीर्षक परिवर्तन गरेर ‘सिरैमा गम्छा’ राखिएको छ।
आधुनिकतासँगै तीजका मौलिक परम्परा, रीतिरिवाज, जीवनशैली र गीतसंगीतहरु ओझेलमा पर्दै गएका छन्। कतिपय नयाँ गायक तथा गायिकाहरुले आफू स्थापित हुन यस्ता गीत गाउने गरेको कतिपयको भनाइ छ।
आधुनिकताको नाममा गीत–सङ्गीतको संस्कृति विस्तारै विकृत बन्दै गएको भन्दै यसका पारखीहरुले विकृति रोक्नुपर्ने सुझाव दिएका छन्। पछिल्लो समय बजारमा आएका केही गीत नेपाली लोकसंस्कृति झल्काउने खालका छैनन्। भाइरल हुने नाममा केहीले गीतको शीर्षकसमेत दुइअर्थी राख्ने गरेका छन्।
केही दिन अघि मात्रै रिलिज गरिएको एउटा तीज गीतको शीर्षक ‘दुधको मुन्टा छुँदा’ राखिएको थियो। हप्ता दिन नपुग्दै गीतको चौतर्फी विरोध भएपछि अहिले गीतको शीर्षक परिवर्तन गरेर ‘सिरैमा गम्छा’ राखिएको छ।
केही गीत सुन्दा अलिकती पनि तीजको स्वाद नआउने खालका छन्। यस्ता गीतहरुले तीजको नाममा समाजमा विकृति ल्याइरहेको हुन्छ। पछिल्लो समय बजारमा आएका केही तीजका गीतहरु यस्ता खालका छन्। ‘पिसाब लाग्यो’, ‘ठेल न बुढी ठेल’, ‘नाइटो छेडी नत्थी लाउँछु ल’। यी गीतहरु कुनै पनि हिसाबले तीज गीत जस्तो लाग्दैनन्। यस्ता गीत रेडियोमा बज्यो भने आवाज सानो गर्नुपर्ने अवस्था छ।
पछिल्लो समय तीजका गीतमा शब्द चयनमा अश्लीलता र दुइअर्थी शब्द छनोट गर्न थालिएको लोक दोहोरी गायक नारायण रायमाझीको भनाइ छ। उनी भन्छन्, ‘पछिल्लो समय तीजका गीतमा अश्लील तथा दुईअर्थी लाग्ने शब्द चयन गर्न थालिएको छ। यसले हाम्रो संस्कृति कतातिर जान्छ त्यो सबैले सोच्न जरुरी छ।’
उनी थप्छन्, ‘यस्ता गीत गाउनेहरु सस्तो लोकप्रियताको लागि यो सब गर्छन्। तर त्यस्तो लोकप्रियता लामो समय टिक्दैन।’ उनले यस्ता गीत छोडेर लोकसंस्कृती झल्किने खालका गीत बजारमा ल्याएर संस्कृतिलाई जगेर्ना गर्न अनुरोध गरे।
Facebook Comment