श्रमजीवी पत्रकारको हितमा आवश्यक परे आन्दोलनमा सहभागी हुन महासंघको आग्रह

डिसी नेपाल
२३ साउन २०७६ १७:००

काठमाडौ । श्रमजीवी पत्रकारका हक संरक्षणका लागि आवश्यकता अनुसारको आन्दोलनमा जान विभिन्न पत्रकार संघ संगठनहरुले नेपाल पत्रकार महासंघलाई आग्रह गरेका छन्।

उनीहरुले महासंघको आन्दोलनमा आफूहरुको पूर्ण साथ रहने उनीहरुले प्रतिवद्धता जनाए। विभिन्न सञ्चार सम्बद्ध संघ÷संगठनहरुको साथ लिन र ऐक्यबद्धताका लागि महासंघले बुधबार केन्द्रीय कार्यालयमा ‘श्रमजीवी पत्रकार ऐन कार्यान्वय’ विषयक छलफल कार्यक्रम आयोजना गरेको थियो।

महासंघ अन्तर्गतको श्रमजीवी हित प्रवर्द्धन समितिका सह–संयोजक जन्मदेव जैसीका अनुसार सो छलफल कार्यक्रमबाट प्राप्त सुझाव र धारणालाई आन्दोलनका कार्यक्रममा रुपान्तरण गर्न लगत्तै उपलब्ध केन्द्रीय समिति बैठक बोलाउने र श्रमजीवीका श्रम अधिकार एवं पारिश्रमिक दिलाउन संघर्षका योजना सार्वजनिक गर्नेछ।

समितिका संयोजक रामप्रसाद दाहालको संयोजनमा भएको सो कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष गोविन्द आचार्यले महासंघको लामो संघर्षपछि जारी गरिएको श्रमजीवी पत्रकार ऐन लागू भएको वर्षौ बितिसक्दा पनि नेपाली मिडिया क्षेत्रमा यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताए।

उनले श्रमजीवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक समेत लागू हुन नसकेको र पछिल्लो समय सूचना तथा प्रसारण विभागले जारी गर्दै आएको पत्रकार परिचय पत्र प्राप्त गर्न समेत अप्ठ्यारो परेको सन्दर्भमा महासंघ कसरी अघि बढ्ने भन्ने विषयमा छलफलका लागि कार्यक्रम आयोजना गरेको बताए।

प्रदेश सरकारले पनि पछिल्लो समय पत्रकार परिचय पत्र वितरण गर्न शुरु गरेको सन्दर्भमा उनले महासंघ संघीयता कार्यान्वयन र प्रदेश सरकारहरुको अधिकारप्रति प्रतिवद्ध रहेको बताउँदै प्रेस पास वितरणका सवालमा रहेको अन्यौल हटाउनुपर्ने र प्रदेश सरकारहरुले पनि प्रेस पास वितरण गर्दा श्रमजीवी पत्रकार ऐन पूर्ण रुपमा कार्यान्वय भएको सुनिश्चित गरेर मात्र वितरण गर्नुपर्ने बताए।

प्रेस संगठन नेपालका अध्यक्ष महेश्वर दाहालले श्रमजीवी पत्रकारहरुको सवाललाई कुनै विभेदबिना एकीकृत रुपमा हेरिनुपर्ने बताए। उनले स्वरोजगार र ठूला लगानीका मिडियामा कार्यरत श्रमजीवी पत्रकारहरुलाई सम्बोधन गर्न दीर्घकालिन नीति निर्माण गर्नुपर्नेमा जोड दिँदै दाहालले अहिले जस्तो अल्पकालिन निर्णयहरुले अन्यौल श्रृजना गर्ने बताए।

विज्ञापनका विषयमा पारदर्शिता र समानुपातिक सिद्धान्त अपनाउने हो भने यस्ता धेरै समस्या हल हुनसक्ने बताउँदै उनले महासंघलाई यसतर्फ पनि ध्यान केन्द्रीत गर्न आग्रह गरे। श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका लागि  नेपाल प्रेस युनियनका उपाध्यक्ष ईश्वरी ओझाले श्रमजीवीको हक संरक्षणका लागि महासंघले ठोस आन्दोलन शुरु गर्नुपर्ने विचार राखे।

उनले अहिले सूचना विभागबाट पत्रकार परिचय पत्र लिन नसकेर ठूला लगानीका मिडियामा काम गर्ने पत्रकारहरु बढी पीडित रहेको बताए।

छलफलमा क्रान्तिकारी पत्रकार संगठन, नेपालका महासचिव बाबुराम भुषाललगायतले ठूला मिडियाहरुले सूचना तथा प्रसारण विभागमा दरबन्दी विवरण नबुझाएका कारण ती मिडियामा कार्यरत पत्रकारहरुलाई अप्ठ्यारो परिरहेकाले महासंघले यसको निकासका लागिआन्दोलन गर्नुपर्ने र त्यस्तो आन्दोलनमा संगठनहरुको ऐक्यवद्धता र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा महासंघका सचिवहरु शीतल महतो, लक्ष्मी पुन, उदय जीएम, कोषाध्यक्ष राजेश मिश्र, केन्द्रीय सदस्य यम बिरही, टेकराज थामी, जानुका बराल, टीकाराम प्रधान, उपत्यका अध्यक्ष एनके दाहाल, प्रतिष्ठान अध्यक्ष शेखर अधिकारी, साप्ताहिक राष्ट्रिय सञ्जालका अध्यक्ष दामोदर दवालीलगायतको सहभागिता थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *