यूएईमा तलब नपाएर अलपत्र परेकी एक महिलाको उद्धार

डिसी नेपाल
२४ साउन २०७६ २३:५१

भद्रपुर । वैदेशिक रोजगारीको सिलसिलामा तीन महिनासम्म तलब नपाएर संयुक्त अरब इमिरेट्स (यूएई)मा अलपत्र झापा कनकाई नगरपालिका–४ सुरुङ्गाकी शोभा न्यौपानेको उद्धार गरिएको छ।

न्यौपाने आज स्वदेश आइपुगेकी हुन्। यूएईको उत्तरी राज्य रासलखेमामा स्थित रकिज अमार क्लिनिङ कम्पनीमा कार्यरत ३४ वर्षीया न्यौपानेलाई झापाली समाज यूएईको समन्वयमा नेपाली दूतावास अबुधाबीले उद्धार गरी नेपाल फर्काएको हो।

उनी काठमाडौँ आइपुगेको उनका पति दिलबहादुरले जानकारी दिए। उनी कार्यरत कम्पनीले तलब सुविधा रोकेको र अलपत्र बनाएको बारेमा पतिले झापाली समाज यूएईलाई जानकारी गराएपछि अबुधाबीस्थित नेपाली दूतावासको पहलमा उद्धार गरिएको झापाली समाज यूएईमा आवद्ध रामप्रसाद ढुङ्गेलले टेलिफोन सम्पर्कमा बताए।

पीडित न्यौपाने एक वर्षअघि काठमाडौँस्थित पर्फेक्ट रिक्रुटिङ सर्भिस प्रालि नामक म्यानपावर कम्पनीमार्फत क्लिनरको काममा यूएई गएकी थिइन्। आफू कार्यरत कम्पनीले तलब नदिएर अलपत्र बनाएपछि उनले अर्को कम्पनीमा कार्यरत झापाली दिदीबहिनीसँग र दूतावासमा शरण लिएकी थिइन्।

ढुङ्गेलका अनुसार नेपाली दूतावासले एकतर्फी ट्राभल डकुमेन्ट बनाएर न्यौपानेलाई नेपाल पठाएको र त्यस प्रक्रियामा आवश्यक पर्ने १५ सय दिराम (करिब ४५ हजार रुपैयाँ) सम्बन्धित म्यानपावर कम्पनीलाई व्यहोर्न लगाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *