रोड्रिगुएजलाई सस्तोमा ल्याउन एथ्लेटिकोको चलाखी, रियल मड्रिडलाई बाध्य पार्ने रणनीति

डिसी नेपाल
२५ साउन २०७६ १२:५८

काठमाडौं। रियल मड्रिडका स्ट्राइकर जेम्स रोड्रिगुएजलाई सस्तोमा ल्याउन एथ्लेटिको मड्रिडले रियल मड्रिडलाई बाध्य पार्ने रणनीति लिएको छ । यसका लागि एथ्लेटिकोले अहिले जेम्सलाई अनुबन्ध गर्न कुनै हतार गरेको छैन । केही दिनअघिसम्म जेम्सलाई अनुबन्ध गर्न लगातार प्रयास गरेको एथ्लेटिको एक्कासी शान्त हुनुको कारण हो प्रिमियर लिगको ट्रान्सफर विन्डो बन्द हुनु । प्रिमियर लिगको टन्सफर विन्डो बन्द भएसँगै यस सिजन प्रिमियर लिग क्लवले उनलाई लैजाने सम्भावना समाप्त भएको छ र रियललाई पनि उनलाई बेच्ने ठूलो विकल्प सकिएको छ ।

अहिलेलाई जेम्सको लागि एउटै गन्तव्यको रुपमा एथ्लेटिको देखिएको छ । रियलले यसअघि उनलाई दिएर पउल पोग्बालाई ल्याउने ठूलो प्रयास गरेको थियो । तर, म्यान्चेस्टर युनाइटेडले मागेको १५० मिलियन पाउण्ड दिन रियलले सकेन । युनाइटेडले पोग्बाको बदलामा खेलाडी नलिने र पैसा नै लिने भनेपछि रियल दबाबमा परेको थियो । रियलको पोग्बालाई ल्याउने प्रयास यो सिजनको लागि सफल नहुने निश्चित भइसकेको छ ।

जेम्सलाई जैजान नापोलीले चासो देखाएको थियो तर फ्लोरेन्टिनो पेरेजले जेम्सको लागि ५० मिलियन युरो मागेपछि नापोली पछि हटिसकेको छ । रियल जेम्सलाई बेच्न चाहन्छ । प्रशिक्षक जिनेदिन जिदानले जेम्स आगामी सिजन आफ्नो योजनामा नभएको पनि बताइसकेका छन् । त्यसमाथि रियललाई अन्य खेलाडी ल्याउनको लागि पैसा चाहिएको छ । तर, रियल आफ्नो घरेलु प्रतिद्वन्द्वीलाई जेम्स दिएर बलियो बनाउन चाहँदैन ।

हालै प्रि सिजन खेलमा एथ्लेटिकोसँग ७–३ को लज्जास्पद हार व्यहोरेपछि त रियल एथ्लेटिकोलाई कुनै हालतमा बलियो बन्न दिने पक्षमा छेन तर उसँग जेम्सलाई बेच्न एथ्लेटिकोबाहेक अर्को विकल्प पनि छैन । तत्कालै रियल जेम्सलाई एथ्लेटिकोलाई बेच्ने पक्षमा छेन तर टन्सफर विन्डो बन्द हुने बेलासम्म पनि अन्य क्रेता नपाएमा रियलले यही विकल्प रोज्नुपर्नेछ । एथ्लेटिको पनि रियलको यही बाध्यताको फाइदा उठाउने दाउमा छ । तत्काललाई भने रियल नेइमारलाई ल्याउनको लागि उनलाई केही रकमको रुपमा प्रयोग गर्ने दाउमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *