महिलाको घाँटीबाट सिक्री थुत्ने गिरोह प्रहरी फन्दामा

डिसी नेपाल
२५ साउन २०७६ १८:१६

काठमाडौं । विगत केही समयदेखि काठमाडौंका विभिन्न स्थानमा मोटरसाइकलमा सवार व्यक्तिहरूले पैदल हिँडिरहेका महिलाहरूले घाँटीमा लगाएका सुनका सिक्री तानेर लुटी फरार भएका घटना सार्वजनिक हुँदै आएका छन्।

त्यस्तै घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई काठमाडौं बसुन्धरा तथा ललितपुरबाट शुक्रबार महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा काठमाडौं टोखा नगरपालिका २ सपनातीर्थ डेरा गरी बस्ने वुढानिलकण्ठ चपली ७ का ३९ वर्षीय टमबहादुर सुनुवार, ललितपुर महानगरपालिका भैंसेपाटी बस्ने रामेछापका २४ वर्षीय टलकबहादुर रायमाझी र ललितपुर बालकुमारीस्थित सुन पसलमा काम गर्ने भारत पश्चिम वंगाल घर भएका ३५ वर्षीय देवासिस दोलही रहेका छन्।

पीडितबाट लुटिएका सिक्रीको बिक्रीबाट आएको २ लाख ५० हजार ५ सय रुपैयाँ, लुटपाटमा प्रयोग भएको बा २९ प ७२७६ नम्बरको मोटरसाइकल, सुनजस्तो देखिने सिक्री १ थान, सुन जोख्न प्रयोग गरिने तौल मेशिन १ थान, मोवाईल ५ थान र लुटपाटमा प्रयोग गरिने कपडा तथा हेलमेटहरू समेत अभियुक्त टमबहादुरको कोठाबाट प्रहरीले बरामद गरेको छ।

उनीहरूले १० जना भन्दा बढी महिलाहरूले घाँटीमा लगाएका सुनका सिक्रीहरू विभिन्न मितिमा लुटी विक्री गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ।

पक्राउ परेकामध्ये टमबहादुर र टलकबहादुर विगतमा पनि यस्तै घटनामा ३ वर्ष जेल सजाय भुक्तान गरिसकेको अनुसन्धानबाट खुल्न आएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ। साथै लुटपाट घटनामा संलग्न हुनसक्ने अन्य व्यक्ति तथा घटनाका सम्बन्धमा उक्त परिसरबाट थप अनुसन्धान भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *