सदस्य पाठकद्वारा रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्रको अनुगमन

डिसी नेपाल
२५ साउन २०७६ २०:०४

डोटी । रेडियो प्रसार सेवा विकास समितिका सदस्य दीपक पाठकले रेडियो नेपाल सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपायलको अनुगम गरेका छन्।

शनिवार दिपायल पुगेका पाठकले रेडियो नेपालको अनुगमन गरेका हुन्। उनले रेडियोका सम्पूर्ण सामग्री, स्टुडियोलगायत कर्मचारीहरुसंग बसेर रेडियोका बारेमा छलफल समेत गरेका छन्।

आगामी दिनमा प्रदेशको संरचना अनुसार रेडियो नेपाललाई अगाडी बढाई रहेको समेत पाठकले बताए। त्यस्तै शुक्रबार समितिका सदस्य पाठकले धनगढीमा सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्ट, आन्तरिक मामिला मन्त्री प्रकाश शाह र भौतिक पूर्वाधार मन्त्री पठान सिंह बोहरासंग भेटघाट गरेका छन्।

भेटघाटमा क्रममा अहिले तत्काल रेडियो नेपाल सुदूरपश्चिम प्रादेशिक प्रसारण दिपायल कार्यालयको लागि धनगढीमा सम्पर्क कार्यालय उपलब्ध गराउने आश्वासन दिएको सदस्य पाठकले बताए।

प्रदेशको स्थायी संरचना बनेपछि रेडियो नेपाललाई सुबिधा सम्पन्न भवन उपलब्ध गराउने समेत आश्वासन दिएको पाठकले बताए। प्रदेश सरकारले आर्थिक, भौतिकलगायतका आवश्यक सहयोग गर्न तयार रहेको आश्वासन दिएको समेत पाठकले बताए। विस २०४७ साल चैत्र २० गते रेडियो नेपाल दिपायलको स्थापना भएको हो।

नेपाल सरकार र जापान सरकारको संयुक्त सहयोगमा मिडियम वेभ प्रसारण प्रणाली बिधिवत रुपमा पूर्व प्रधानमन्त्री स्व.गिरीजा प्रसाद कोइरालाले बिक्रम सम्वत २०५० साल मंसिर २८ गते उद्घाटन गरेका हुन्।

रेडियो नेपाल दिपायल मिडियम वेभ ८१० किलोहर्जका साथै बैतडीको खोड्पे एफएम र दार्चुला छापडी एफएम व्याण्डको ९८ मेगाहर्ज साथै कैलालीको बुढीतोला एफएम व्याण्डको १०३ मेगाहर्जमा पनि सुन्न सकिने रेडियो नेपालले जनाएको छ।

रेडियोको प्रसारण सेवा सुदूरपश्चिमका डोटी, अछाम, बझाङ, बाजुरा, कैलाली, कञ्चनपुर, बैतडी दार्चुला र डडेल्धुरा जिल्लामा रहेको रेडियो नेपाल दिपालयका प्रमुख वौएलाल चौधरीले बताए। मुलुककै जेठो प्रसारण संस्था रेडियो नेपालले हाल २१ भाषाहरूमा समाचार र १८ भाषाहरूमा कार्यक्रम प्रसारण गर्दै आइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *