सप्तरीमा बिजुलीको पोल ढल्दा एक जनाको मृत्यु

काठमाडौं । सप्तरीको डाकनेश्वरी नगरपालिका–५ पातोमा आज बिजुलीको पोल ढलेर सोही ठाउँका ४८ वर्षीय भोलाप्रसाद साहको मृत्यु भएको छ।
मजदुर खोज्न मुसहरी टोल निस्किएका साह कुराकानी गरिरहेका बेला अचानक सिमेण्टले निर्मित बिजुलीको पोल ढल्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
पोल ढलेर टाउको तथा नाकमा गम्भीर चोट लागेको अवस्थामा साहलाई उपचारका लागि राजविराज ल्याइएको थियो। उपचारका क्रममा उनको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय पातोका प्रहरी नायब निरीक्षक झनकबहादुर अधिकारीले बताए।
शवको राजविराजस्थित अस्पतालमा आजै परीक्षण भएको छ।डाकनेश्वरी नगरपालिका–३ तरही साविक घर भएका साह व्यापारका लागि परिवारसहित पातोमा बसोबास गर्दै आएका थिए।रासस
Facebook Comment