जन्मदिनमा झापाका एक युवाले गरे अक्षयकोषमा १५ हजार जम्मा

काठमाडौं । झापाका एक युवाले आफ्नो जन्मदिनको उपलक्ष्यमा असहाय बालबालिकाहरुको लागि स्थापना हुन लागेको अक्षयकोषमा १५ हजार रकम जम्मा गरेका छन्।
झापा बुद्धशान्ति गाउँपालिका ३ का टीका कटेलले आफ्ना बुबाआमाको नाममा करिब १५ हजार रुपैयाँ जम्मा गरेका हुन्। जन्मदिनको अवसरमा पार्टीको नाममा फजुल खर्च गर्नुभन्दा आफ्ना बुबा शिवभक्त र आमा विश्नुमायाको नाममा अक्षयकोषमा रकम जम्मा गर्दा बढी उपयोगी र सान्दर्भिक हुने ठहर गरी टीकाले यो निर्णय गरेको बताएका छन्।
युएईमा करिब १५ वर्षको रोजगारी पश्चात् ८ महिना अगाडि साउदी अरब पुगेका टीका कटेल झापाली समाज युएईका संस्थापक केन्द्रीय सदस्य साथै अबुधाबी क्षेत्रीय समितिका पूर्व उपाध्यक्षको पदमा रहेर काम गरिसकेका छन्।
समाजको साँस्कृतिक विभागमा काम गरिसकेका कटेल गायन क्षेत्रमा पनि निरन्तर अगाडि बढिरहेका छन्। उनले गायिका अन्जु पन्तसँग उही बाटो, उही लक्ष्य, उस्तै हाम्रो चाहना छ बोलको युगल गीत रेकर्ड गरिसकेका छन्।
झापाली समाज युएईका आजीवन सदस्य समेत रहेका कटेलले समाजले चालेको अभियानमा उक्त रकम हस्तान्तरण गरेका हुन्।
युएईको सक्रिय सामाजिक संस्था झापाली समाज युएईले आफ्नो जिल्लाका असहाय बालबालिकाहरुको सहायताको लागि १० लाख रुपैयाँको अक्षय कोष स्थापना गर्ने अभियान अन्तिम चरणमा पुगेको जनाएको छ। यो अभियानमा आफ्नो नामबाट पनि थप ५ हजार रुपैयाँ गरी जम्मा २० हजार रुपैयाँ हस्तान्तरण गरेको उनले जानकारी दिएका छन्।
झापाली समाज युएई अन्तर्गत रहेको अक्षय कोष संकलन तथा पुर्णता समितिका संयोजक तथा गायक पारस लामाले टीका कटेलको यो सहयोग अनुकरणीय रहेको र समाजले उच्च मुल्यांकन गर्ने बताएका छन्।
जन्मदिनको उपलक्ष्यमा तडकभडक नगरी समाजमा सकारात्मक सन्देश दिने टीका कटेलको महान सोचलाई झापाली समाज युएईको तर्फबाट हार्दिक आभार प्रकट गर्दै झापाली समाज युएईका अध्यक्ष अशोक चापागाईंले समाजका सबै आजीवन सदस्यलाई अक्षयकोष स्थापना गर्ने अभियानमा सहयोग गर्न आह्वान गरेका छन्।
यसै अभियानमा सारजहा क्षेत्रीय समितिमा कार्यरत प्रेमा सुब्बाले पनि आफ्नो जन्मदिनको अवसरमा गत फेब्रुअरीमा ५ हजार रुपैयाँ जम्मा गरेकी थिइन्।
Facebook Comment