चेलीबेटी बेचबिखनविरुद्ध सचेतता गोष्ठी

झापा । चेलीबेटी बेचविखनको स्वरुप बदलिएको परिस्थितिमा सचेतता जगाउन झापामा एक दिने गोष्ठी शनिबार सम्पन्न भएको छ । गरामनीको दुर्गा उच्च माविमा अध्ययनरत छात्राहरू र स्थानीय महिलाहरूलाई चेलीबेटी बेचविखनका विरुद्ध सचेत रहन सम्बन्धित क्षेत्रका अगुवाहरूले प्रशिक्षण दिएका हुन् ।
माइती नेपालका प्रतिनिधि गोविन्द घिमिरेले अझै पनि नेपाली चेलीबेटीहरू भारतमात्रै होइन, खाडी, युरोप र अफ्रिकी मुलुकहरू सम्म नेपाली चेलीबेटीहरू बेचविखनमा परेको बताए । वैदेशिक रोजगारीको नाममा पनि केही चेलीबेटीहरू बेचिन बाध्य भएको घिमिरेले दाबी गरे । कक्षा ८ देखि १२ सम्मका करिब १५० छात्राहरु सहभागी उक्त सचेतता गोष्ठीमा कसैको प्रलोभनमा नपर्न सुझाव दिइएको थियो ।
एकल महिला जागरण समुह झापाकी अध्यक्ष दुर्गा आचार्यको सभापतित्वमा संचालित कार्यक्रम मा बिर्तामोड नगरपालिका-९ की वडाध्यक्ष पवित्रा पाठकले पनि दिदीबहिनीहरू आफै सचेत भएर समाजमा जागरण ल्याउन पहल गर्नुपर्ने बताइन् ।
गोष्ठीमा बिर्तामोडकी संगिता शिवाले पनि नेपाली चेलीबेटीहरू स्वदेशमै आत्मनिर्भर रहने कोसिस गरेमा बेचबिखनमा नपरिने बताइन् । विद्यालयका शिक्षक, स्थानीय समाजसेवी, रेडक्रस प्रतिनिधिले पनि गोष्ठीमा सहभागी भएर चेलीबेटी बेचविखन विरुद्ध ऐक्यवद्धता प्रकट गरेको कार्यक्रमका संचालक तथा सामाजिक अभियन्ता माइनसप्लस संग्रौलाले जानकारी दिए ।
Facebook Comment